गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्रता बनाएका छन्। उनले आइतबार गोरखाको सहिद लखन गाउँपालिका पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका गुनासा तथा समस्याबारे जानकारी लिए।
भेटघाटका क्रममा स्थानीयवासीले सडक, मल तथा खानेपानीको समस्या समाधानका लागि सरकारको साथ आवश्यक रहेको बताएका छन्। उनीहरूले दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिदिन मन्त्री गुरुङसमक्ष आग्रह गरेका थिए।
स्थानीयका गुनासा सुनेपछि मन्त्री गुरुङले सडक, मल र खानेपानीलगायतका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए। स्थानीयवासीलाई समस्या समाधान हुनेमा ढुक्क रहन आग्रह गर्दै मन्त्री गुरुङले सरकार जनताका समस्या सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए।
प्रकाशित: ३१ श्रावण २०८३ १५:०४ आइतबार



