राजनीति

सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ

फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा बिहीबार विशेष नवजात शिशु स्याहार कक्ष (एसएनसियू) सेवाको उद्घाटन गर्दै उनले सेवाग्राहीको चेतनास्तर फरकफरक हुने भएकाले चिकित्सक तथा कर्मचारीले सबैसँग समान र सहज व्यवहार गर्नुपर्ने बताए।

कुनै पनि संस्था सञ्चालनमा चिकित्सक तथा कर्मचारीको व्यवहार र भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने बताए। अध्यक्ष बिजुक्छेँले गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने अस्पतालमा सेवाग्राहीको भीड हुनु स्वाभाविक भएको बताए। अस्पतालमा उपलब्ध सेवा सबैले समान रूपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सके अस्पतालको सकारात्मक प्रचार हुने उनको भनाइ छ। ख्वप अस्पतालले भक्तपुरका नागरिकलाई मात्र नभई देशभरिका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गरे। उनले नयाँनयाँ सेवा सञ्चालन गरी जनतालाई स्वास्थ्य सेवा दिने कार्यलाई निरन्तरता दिनुपर्ने बताए।

प्रकाशित: २० कार्तिक २०८३ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App