वर्तमान सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसहित सार्वजनिक सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याइएको सरकारले जनाएको छ।
यसैगरी, पाँच हजार ७२८ थान राहदानी हुलाकमार्फत सिधै नागरिकको घरघरमै पुर्याइएको मन्त्री पोखरेलले जानकारी दिए।
यस अवधिमा झन्डै ३१ लाख थान लाइसेन्स छापिएको जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘३० लाख ७५ हजार १८१ थान सवारीचालक अनुमतिपत्र छपाइ भएको छ र असार मसान्तसम्म थप २९ लाख छपाइ सम्पन्न गरिनेछ।’
डिजिटल सुधारतर्फ कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीको स्थायी लेखा नम्बर (प्यान) सेवाग्राही आफैँले ‘केमिस’ प्रणालीमार्फत वेबसाइटबाट डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाइएको सरकारले जनाएको छ।
मन्त्री पोखरेलका अनुसार ३२ जिल्लामा एकद्वार सेवा प्रणालीका निम्ति बजेट व्यवस्थापन भइसकेको छ।
कार्यालयका फाइलहरू कुन शाखामा कुन अवस्थामा छन् भनी रियलटाइम जानकारी दिने ‘जीआईओएमएस’ प्रणाली लागु भइसकेको मन्त्री पोखरेलले बताए।
हाल हुलाकमार्फत घर-घरमै सवारीचालक अनुमतिपत्र र राहदानी वितरण सुरु भइसकेको जानकारी दिँदै उनले कम्पनी दर्तादेखि प्रमाणपत्र लिनेसम्मको प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीमा ल्याउन कार्य अघि बढाइएको बताए।
यसका साथै नापी विभागको अमिन सेवामा समेत अनलाइन अपोइन्टमेन्टको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
प्रकाशित: २० असार २०८३ १६:५२ शनिबार



