राजनीति

सरकारले युवाको विश्वास आत्मसात् गरेर काम गरिरहेको छ: परराष्ट्रमन्त्री

<br>

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवा पुस्ताको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयको ‘समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम-२०२६’ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ समारोहलाई आज सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहने बताए।

उनले युवा अनुसन्धानकर्ताहरूलाई बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै देशको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान दिन आग्रह गरे।

राजनीतिमा आउनुअघि आफूले विद्यालय तहको सार्वजनिक शिक्षाको क्षेत्रमा काम गरेको स्मरण गर्दै मन्त्री खनालले नेपाली युवाले उत्पादन गर्ने ज्ञानले नीति निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सरकारमा सहभागी भएको चार साताभित्रै यो कार्यक्रम अघि बढाइएको जानकारी दिँदै मन्त्री खनालले आठ सातासम्म चलेको कार्यक्रम निकै फलदायी भएको बताए।

‘यो कार्यक्रममार्फत देशभित्र र बाहिर रहेका युवाहरूसँग परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सिधै काम गर्न सफल भएको छ,” उनले भने। यो कार्यक्रमले जलवायु परिवर्तन, श्रम आप्रवासन, कृत्रिम बौद्धिकता (एआई) र प्रविधिलगायतका क्षेत्र समेटेको उनको भनाइ थियो।

सोही कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) की कार्यकारी निर्देशक रोजिना ताम्राकारले कार्यक्रमले युवा अनुसन्धानकर्ता तथा पेसाकर्मीहरूलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव प्रदान गर्नुका साथै शैक्षिक अनुसन्धान र नीतिगत अभ्यासबिच सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याएको बताए।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म सञ्चालन भएको आठहप्ते सो स्वेच्छिक नीति अनुसन्धान कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए।

उनीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तरराष्ट्रिय कानुन, विकास तथा वित्त, प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरालगायत पाँच विषयगत क्षेत्रमा नीतिमुखी अनुसन्धानका निष्कर्ष र सुझाव प्रस्तुत गरेका थिए।

परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको सो कार्यक्रम आईएफएले आयोजना गरेको हो। कार्यक्रममा कूटनीतिज्ञ, सरकारी अधिकारी, प्राज्ञ, अनुसन्धानकर्ता र विकास साझेदारसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रकाशित: २७ श्रावण २०८३ २०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App