राजनीति

सरकार फासिवादी प्रवृत्तिमा : एमाले

नेकपा (एमाले) ले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारको कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिँदै त्यसको विरोध गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सञ्चारगृहमा छापा मार्ने, पत्रकारलाई पक्राउ गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्य निन्दनीय, अलोकतान्त्रिक र फासिवादी प्रवृत्तिको द्योतक भएको बताएका छन्।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै एमालेले सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको जनाएको छ।

‘कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

राज्यका निकायहरू कानुनी शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको एमालेको भनाइ छ।

एमालेले सञ्चारमाध्यममाथि हुने गैरकानुनी हस्तक्षेप र पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार एवं प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ।

सरकारको कदमको निन्दा गर्दै एमालेले पक्राउ परेका सञ्चारकर्मीलाई विनासर्त रिहा गर्नसमेत माग गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ २१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App