राजनीति

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ: मन्त्री तिमिल्सिना

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाप्रति चौतर्फी विरोध भइरहेका बेला सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्।

उनले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्।

यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यस्तै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका सम्पादक धीरज बस्नेत पनि प्रहरी नियन्त्रणमा परेका थिए। नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई खोजेको थियो।  

नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई पनि समाचारको स्रोतबारे सोधपुछ गर्न साइबर ब्युरोमा बोलाइएको थियो।

घटनाप्रति पत्रकार महासंघ, प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, राजनीतिक दलका नेता तथा पत्रकारहरूले विरोध जनाएका थिए। समाचार कक्षमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको उनीहरूको भनाइ थियो।

चौतर्फी विरोधपछि प्रधानमन्त्री बालेन्द्र शाहले पनि घटनामा चासो देखाउँदै नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।  

सरकारले सबै पत्रकार रिहा भएको जनाएसँगै तत्कालका लागि धरपकड प्रकरण मत्थर भएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ २१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App