परराष्ट्रमन्त्री शिशिर खनालले ‘ब्रान्ड नेपाल’ देशको विकास आकाङ्क्षा र परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताएका छन्। नेपालको मौलिक पहिचान, सांस्कृतिक विविधता र समकालीन उपलब्धिलाई अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न सरकार दृढ रहेको उनले सुनाए।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आयोजित ‘ब्रान्ड नेपालः नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक नीतिगत संवाद तथा प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले उक्त धारणा राखेका हुन्।
‘राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र विश्वमञ्चमा देशको स्थान निर्धारण गर्छ,’ मन्त्री खनालले भने, ‘त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो।’
नेपालको अन्तर्राष्ट्रिय छवि हिमाल र लुम्बिनीमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले अब देशको पहिचानलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याए। काठमाडौंको हस्तकला, हिमाली बुनाइ, थारू समुदायको पर्यावरण ज्ञान, मैथिली-भोजपुरी साहित्य र पूर्वी पहाडको किरात परम्परा देशको सामूहिक पहिचानका खम्बा भएको उनको भनाइ थियो।
मन्त्री खनालले नेपाली समुदायको उद्यमशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विश्वभर छरिएका नेपाली पेसाकर्मीको योगदानले नेपालको छविलाई आधुनिक युगमा नयाँ उचाइ दिएको बताए।
‘हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ प्रस्तुत गर्न चाहन्छौं,’ उनले भने, ‘आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ।’
प्रकाशित: १९ कार्तिक २०८३ १९:०७ बिहीबार



