राजनीति

किसानलाई करोडौं अनुदान होइन मल, बीउ र उचित मूल्य देउ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानलाई सरकारले करोडौं अनुदान नभइ मल, बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन्।

धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरलले यस वर्ष अनियमित वर्षा र खेडरीको सम्भावना रहेकाले किसानलाई हुने ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा  कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताएका छन्।  

पोखरेलले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ। ‘सरकारले कृषिमा २ करोड रुपैंयाभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ। व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैँमा नराम्रो होइन,’ पोखरेलले लेखेका छन्, ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यती ठूलो लगानी गर्न सक्ने बनेको छ र?’

कृषि र किसानको प्रशंशा गर्दै महासचिव पोखरेलले भौतिक रूपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व नघटेको उनले प्रष्ट पारेका छन्। सरकारले यो वास्तविकतालाई स्वीकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन्।

‘वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ,’ पोखरेलले लेख्छन्, ‘मध्यम वर्ग आफैँ पनि संघर्ष गरेर जीउन सक्ने तर अहोरात्र उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ। ’

प्रकाशित: १५ असार २०८३ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App