राजनीति

जेनजी घाइते भन्छन्, ‘हामी पीडित होइनौँ, परिवर्तनका साक्षी हौँ’

जेनजी आन्दोलनमा घाइते भएका योद्धा तथा सहिद परिवारको हकहितका लागि ‘जेनजी घाइते कार्यालय उद्घाटन गरिएको छ।

संस्थाको कार्यालय गृहमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले राज्यको ध्यान घाइते र सहिद परिवारको अधिकार, उपचार र पुनर्स्थापनातर्फ आकर्षित हुनुपर्ने बताएका छन्। 

कार्यक्रमलाई सम्बोधन बोहोराले कार्यालय उद्घाटनको दिन केवल एउटा औपचारिक सुरुवात मात्र नभई घाइतेहरूको सङ्घर्ष, सुशासन र अभियानलाई संस्थागत गर्ने महत्त्वपूर्ण क्षण भएको बताए। 

बोहोराले भने, ‘यहाँहरूको उपस्थितिले सहिद परिवार र घाइते योद्धाहरूको सम्मानप्रति राज्य संवेदनशील रहेको सकारात्मक सन्देश दिएको हामीले अनुभूति गरेका छौँ। हामी विश्वास गर्दछौँ कि यहाँहरूको नेतृत्वले सुशासन, विधिको शासन र नागरिकको सम्मानलाई अझ सुदृढ बनाउन निरन्तर प्रयास जारी राख्नेछ।’ 

आन्दोलनको पृष्ठभूमि सम्झदै उनले भदौ २३ र २४ गतेको विद्रोह कुनै व्यक्ति, दल वा समूहको मात्र नभई लोकतन्त्र, न्याय र नागरिक अधिकारका लागि भएको ऐतिहासिक कदम भएको बताए। उक्त आन्दोलनमा धेरैले ज्यान गुमाएको, सयौँ घाइते भएको र कयौँ अझै पनि शरीरमा गोली र छर्रा बोकेर जिउन बाध्य भएको भदै उनी भावुक भए। 

आफू पनि सोही आन्दोलनको घाइते भएको बताउँदै बोहोराले भने, ‘हामी पीडित होइनौँ, हामी परिवर्तनका साक्षी हौँ, हामी इतिहासका जीवित दस्तावेज हौँ। गोलीका घाउ समयसँगै निको होलान्, तर आन्दोलनका ती दिनहरू, सहिदका बलिदान र सङ्घर्ष कहिल्यै बिर्सिन सकिँदैन।’ 

संस्थाको अबको भुमिका बारे बोल्दै उनले भने थपे, ‘यो संस्था कसैप्रति प्रतिशोध राख्ने संस्था होइन। यो न्याय, सम्मान, पुनर्स्थापना, एकता र राष्ट्र निर्माणमा योगदान गर्ने साझा अभियान हो। हामी राज्यसँग टकराव होइन, सहकार्य चाहन्छौँ ।’ 

प्रकाशित: २१ श्रावण २०८३ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App