लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई चार दलले विश्वासको मत दिने भएका छन्।
मुख्यमन्त्री आचार्यलाई एमाले, नेपाली कम्यूनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका हुन्।
सोमबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि ती दलका नेताहरूले विश्वासको मत दिने जानकारी गराएका हुन्। यससँगै मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुटेको छ।
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने भएको छ। यसअघि कांग्रेसले आचार्यको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थिया।
कांग्रेससँगै जनमत पार्टीले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्ने भएको छ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।
प्रकाशित: १ भाद्र २०८३ १५:१८ सोमबार