नेपाली कांग्रेसभित्र संस्थापनइतर धारले आफ्नो शक्ति र आगामी राजनीतिक रणनीति प्रस्तुत गर्ने उद्देश्यसहित तीनदिने राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २९ देखि ३१ गतेसम्म हुने भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। आयोजकका अनुसार शुक्रबार दिउँसो १ बजे उद्घाटन समारोह हुनेछ।
भेलाको अध्यक्षता आयोजक समिति संयोजक डा. शशांक कोइरालाले गर्नेछन्। उद्घाटनपछि कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने र त्यसपछिका दुई दिन बन्दसत्रमार्फत संगठन तथा राजनीतिक विषयमा छलफल अघि बढाइने तयारी छ।
आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार भेलामा करिब ४६ सय नेताकार्यकर्ता सहभागी हुने प्रारम्भिक अनुमान छ। सहभागिता बढेर संख्या ५ हजारभन्दा माथि पुग्न सक्ने उनको भनाइ छ।
भेलाका लागि तयार पारिने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिने काम पनि तीव्र पारिएको छ। आयोजकका अनुसार प्रतिवेदन आज साँझसम्म टुंग्याएर सञ्चारमाध्यमलाई उपलब्ध गराउने तयारी छ।
तीन दिनसम्म चल्ने भेलालाई कांग्रेसभित्र संस्थापनइतर समूहको आगामी रणनीति, संगठनात्मक अवस्था र नेतृत्वबीचको समन्वयबारे धारणा सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रकाशित: २७ श्रावण २०८३ १३:१५ बुधबार



