राजनीति

रोमानिया, रुवान्डासहित पाँच देशका समकक्षीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले रोमानिया, सर्बिया, रुवान्डा, कजाकस्तान र सेनेगलका समकक्षीसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गरेका छन्।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार खनालले रोमानियाका विदेशमन्त्री ओआना-सिल्भिया तोइउसँग संयुक्त राष्ट्रसंघको मुख्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्। भेटमा दुवैले आपसी चासोका विभिन्न विषयमा छलफल गर्दै जलवायु परिवर्तनलगायत पारस्परिक लाभका क्षेत्रमा बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै, खनाल र सर्बियाका विदेशमन्त्री मार्को ज्युरिचले नेपाल र सर्बियाका परराष्ट्र मन्त्रालयबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। नियोगका अनुसार भेटमा नेपाल र सर्बियाबिचको नजिकको तथा सहकार्यपूर्ण सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै, जलवायु परिवर्तनसँग जुध्न बलियो विश्वव्यापी एकता र सहकार्यको महत्वबारे पनि विचार आदानप्रदान भएको छ।

खनालले रुवान्डाका विदेशमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेसँग पनि भेटवार्ता गरेका छन्। उक्त भेटमा नेपाल र रुवान्डा सरकारबिच सामान्य सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। भेटमा दुवै विदेशमन्त्रीले जलवायु परिवर्तनका कारण मानिसको जीवन, जीविकोपार्जन र महत्वपूर्ण पूर्वाधारमा परेको बढ्दो प्रभावबारे विचार आदानप्रदान गरेका छन्।

भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबारे पनि छलफल भएको थियो। दुवै पक्षले आपसी चासोका क्षेत्रमा बढ्दै गएको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, खनाल र कजाकस्तानका विदेशमन्त्री मुख्तार त्लेबेर्दीले कूटनीतिक तथा सरकारी/सेवा पासपोर्टवाहकलाई भिसा छुट दिने सम्बन्धमा दुई सरकारबिचको सम्झौतामा हस्ताक्षर गरेका छन्। भेटमा मैत्रीपूर्ण तथा सहकार्यपूर्ण द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउनेलगायत आपसी चासोका विषयमा छलफल भएको नियोगले जानकारी दिएको छ।

यसैबिच, खनाल र सेनेगल गणराज्यका विदेश मामिला, अफ्रिकी एकीकरण तथा सेनेगलका विदेशमा रहेका नागरिकसम्बन्धी मन्त्री चेख नियाङले नेपाल र सेनेगलबिच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरअघि भएको छोटो भेटमा दुवै मन्त्रीले नेपालमा जलवायु प्रकोपपछि भइरहेको पुनर्लाभ तथा पुनर्निर्माण प्रयाससहित पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन्। साथै, दुवै देश र जनताको साझा प्रगति तथा समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुको महत्वमा जोड दिएका छन्।

सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक पहुँच १८८ देशमा विस्तार भएको नियोगले जनाएको छ।

प्रकाशित: १० आश्विन २०८३ १०:०१ शनिबार