राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारीअनुसार परिणाम दिन नसके अर्को ‘भदौ २३’ जस्तो परिस्थिति निम्तिन सक्ने संकेत गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक परिवर्तनलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्न नसके त्यसको असर समग्र युवा राजनीतिमाथि पर्ने चेतावनी दिए।
उनले गत वर्षको भदौ २१ र २२ गतेको अवस्थालाई स्मरण गर्दै त्यसको भोलिपल्टै परिस्थिति नाटकीय रूपमा बदलिएको बताए।
उनले भने, ‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार दुई तिहाइ थियो। शक्तिशाली दुई पार्टी सरकारमा थियो, कसले छुन सक्थ्यो र? २३ आइपुग्यो नि, ओभरनाइट।’
लामिछानेले रास्वपाले काममार्फत गलत भाष्य चिर्न नसके अवस्था गम्भीर बन्न सक्ने बताए। उनका अनुसार युवाले नेतृत्व गर्न सक्छन् भन्ने विश्वासलाई व्यवहारबाटै प्रमाणित गर्नुपर्ने चुनौती रास्वपामाथि छ।
‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ,’ उनले भने ।
लामिछानेले रास्वपाले आफ्नो जिम्मेवारी पूरा गर्न नसके केही वर्षभित्रै ‘युवाले रहर गरेर राजनीति गर्न सक्दैनन्’ भन्ने भाष्य स्थापित हुन सक्ने बताए।
उनले भने, ‘यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै सम्भवत: केही वर्षभित्रै एउटा भाष्य बन्ने छ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति त सम्भव नहुने रहेछ भन्ने वातावरण सिर्जना हुन सक्छ।’
त्यस्तो अवस्था सिर्जना भए त्यसको सबैभन्दा ठूलो असर युवाको नेतृत्व र राजनीतिक परिवर्तनका पक्षमा लागेकाहरूलाई पर्ने उनको भनाइ थियो।
लामिछानेले युवाको नेतृत्व स्थापित गर्न सफल भयौँ भन्दै मात्र उत्सव मनाउनेभन्दा त्यसलाई ठोस परिणाममा रूपान्तरण गरेर गर्व गर्नुपर्ने बताए।
युवालाई नेतृत्वमा ल्याउन सकिन्छ भन्ने विश्वास स्थापित भइसकेको भन्दै उनले अब त्यसको परीक्षण काम र परिणामबाट हुने धारणा राखे।
उनका अनुसार युवाको नेतृत्व असफल भयो भन्ने सन्देश गयो र ‘राजनीतिका लागि परिपक्वता, अनुभव र उमेर नै अनिवार्य रहेछ’ भन्ने भाष्य स्थापित भयो भने त्यो भविष्यका लागि घातक हुन सक्छ।
लामिछानेले रास्वपाले आफूलाई प्राप्त अवसर र जिम्मेवारीलाई परिणाममा बदल्न नसके त्यसको असर पार्टीमा मात्र सीमित नरहने, बरु नेपाली राजनीतिमा युवाको भूमिकाबारे स्थापित हुँदै गएको नयाँ विश्वासमै पर्न सक्ने संकेत गरेका छन्।
प्रकाशित: २७ श्रावण २०८३ १६:३८ बुधबार



