राजनीति

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रदेश सरकारमा मुख्यमन्त्री भट्टले नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री बिहीबार नियुक्त गरेका छन्।

नेकपाको भागमा परेका भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमप्रकाश भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिलामन्त्रीमा खुशीराम चौधरी नियुक्त भएका छन्। यसअघि यी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेका थिए।

यसैगरी जानकी कुँवर पौडेल भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्। नियुक्त गरिएका मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेकपाको भागमा परेका पाँच मन्त्रीको नियुक्तिसँगै प्रदेश सरकारले पूर्णता पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल मुख्यमन्त्रीसहित १० सदस्यीय बनेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई मन्त्री छनोट गर्न सकस परेको थियो। प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले मन्त्री छनोट नगरी विश्वासको मत लिएका थिए।

सुदूरपश्चिम प्रदेश सभामा रहेका तीन घटक मिलेर बनेको नेकपामा सबैलाई भाग मिलाएर मन्त्री छनोट गरिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मिलाएर मन्त्री छानिएको हो।

मन्त्री भाट तत्कालीन माओवादी केन्द्रबाट, रावल तत्कालीन एकीकृत समाजवादी र चौधरी तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

आकांक्षी धेरै भएकाले नेकपाको भागमा परेका मन्त्री छनोट गर्न सकस हुँदा प्रदेश सरकार विस्तारमा ढिलाइ भएको थियो।

गत साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बनेको हो।

नेकपा र नेकपा एमालेबीच एक राज्यमन्त्री र तीन मन्त्री नेकपा एमालेले तथा दुई राज्यमन्त्री र तीन मन्त्री नेकपाले पाउने सहमति भएको थियो। मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ खाएकै दिन गत साउन २९ गते नेकपा एमालेका तर्फबाट चार मन्त्री नियुक्त गरेका थिए।

नेकपा एमालेका तर्फबाट सामाजिक विकासमन्त्री सन्तोषी थापा शर्मा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्री जानकी बम ऐर बनेका छन्।

नेकपाले मापदण्ड बनाएर सरकारमा सहभागी गराउने मन्त्रीको टुंगो लगाउन नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

धेरै आकांक्षीको हानथापका कारण कार्यदलले मन्त्रीबारे निर्णय गर्न सकेन। बिहीबार बसेको कार्यदलको बैठकले आकांक्षीका नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको थियो। आकांक्षीमध्ये मन्त्री छनोट गर्न कार्यदलबाट निर्णय हुन नसकेकाले केन्द्रमा नाम पठाइएको प्रदेश इन्चार्ज भानुभक्त जोशीले बताए। केन्द्रबाट टुंगो लागेबमोजिम मन्त्री नियुक्त गरेर प्रदेश सरकार विस्तार गरिएको हो।

नेकपामा मन्त्रीका लागि दाबी गर्नेमा १२ जना प्रदेश सभा सदस्य रहेका थिए। कार्यदलले दाबी गर्ने १२ जनाकै नाम केन्द्रमा पठाएको थियो।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सात जना, नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तीन जना र एकीकृत समाजवादीबाट निर्वाचित दुई जना प्रदेश सभा सदस्यको नाम कार्यदलले केन्द्रमा पठाएको थियो।

नेकपामा रहेका २२ प्रदेश सभा सदस्यमध्ये तत्कालीन माओवादी केन्द्रबाट ११, नागरिक उन्मुक्ति पार्टीबाट सात र नेकपा एकीकृत समाजवादीबाट चार जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

गत साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले गत बुधबार सुदूरपश्चिम प्रदेश सभाको बैठकबाट विश्वासको मत लिएका थिए।

तीन घटकबाट निर्वाचित नेकपामा रहेका प्रदेश सभा सदस्यमध्ये आकांक्षी धेरै रहेको र हानथाप बढेकाले मन्त्री छनोट गर्नुअघि मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित नभएकाले चालु आर्थिक वर्षका लागि बजेट ल्याएर बजेट शून्यताको अवस्था अन्त्य गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको छ।

प्रकाशित: ५ भाद्र २०८३ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App