निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिसम्बन्धी विषयमा दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।
आजको बैठकले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न दुई समिति गठन गर्ने निर्णय गरेको हो। समितिहरूले प्रारम्भ गरेको मितिले ३० कार्यदिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गर्ने समितिको संयोजकमा निर्वाचन आयुक्त गुरु प्रसाद वाग्ले रहेका छन्। समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
त्यस्तैगरी सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन आवश्यक सुधारका विषयमा अध्ययन गर्न अर्को समिति गठन गरिएको छ।
निर्वाचन आयुक्त डा राजीव सुवाको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र तथा साइबर ब्युरो लगायतका निकायका प्रतिनिधि रहनेछन्।
प्रकाशित: २७ श्रावण २०८३ १८:०२ बुधबार



