अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको बताएका छन्।
अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरेका छन्। विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण भइरहेका बेला नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहेको बताए। आर्थिक सर्वेक्षण अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेका छन्।
प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गर्दै अन्य प्रदेशको वृद्धिदर औसतभन्दा कम रहने बताए। सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत तथा गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। बागमती प्रदेशले मात्रै कुल गार्हस्थ्य उत्पादनमा ३६ दशमलव ७ प्रतिशत योगदान पुर्याएको बताए।
कृषि उत्पादनतर्फ धान उत्पादनमा गिरावट आएको छ। आर्थिक सर्वेक्षण अनुसार धान उत्पादन ४ दशमलव २० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
राजस्व तथा सरकारी खर्चतर्फ चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व ३ दशमलव २ प्रतिशतले वृद्धि भएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। सरकारी खर्च १० दशमलव ४ प्रतिशतले बढे पनि पुँजीगत अर्थात् विकास खर्चमा अपेक्षित सुधार हुन नसकेको बताए। यस अवधिमा सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ६ प्रतिशत बराबर हो। चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ।
बाह्य क्षेत्रका सूचकहरू भने सुदृढ देखिएका छन्। विप्रेषण आप्रवाह ३७ दशमलव ७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले १८ दशमलव ५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने सर्वेक्षण रहेको छ। तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
साथै फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ रहेको र सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘स्टेबल आउटलुक’ प्राप्त गर्दै सरकारले यसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको आर्थिक साख सुधारिएको संकेत रहेको बताए। मुद्रास्फीति भने औसत २ दशमलव १३ प्रतिशतमा सीमित रहेको जनाइएको छ।
साथै मानव विकासका सूचकहरूमा पनि सुधार देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६२२ पुगेको छ भने औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ। स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ तथा पाँच वर्षमुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ। शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७ दशमलव ८ प्रतिशत पुगेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १४:०० बुधबार



