राजनीति

ग्यास अभावको समाधान गर्न मन्त्रिपरिषद्को छलफल

पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ। 

सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो।   

छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताएका छन्। पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज बनाउन सरकारले ७ दशमलव १ किलोग्रामको आधा सिलिन्डर वितरण गरेकोमा पुनः १४ दशमलव २ किलोग्रामको भरिएको सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो। 

व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताएका छन्। बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। 

त्यसैगरी आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढंगले छलफल जारी राख्ने बताएका छन्। 

प्रकाशित: १९ श्रावण २०८३ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App