ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच फेवाताललगायत तालहरूको संरक्षण र विकास आयोजनामा संघ-प्रदेश सहकार्य गर्ने विषयमा छलफल भएको छ।
शुक्रबार पोखरामा भएको भेटवार्तामा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा उनीहरूबीच कुराकानी भएको हो।
ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकीका ऊर्जा विकास आयोजना निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापन र सिँचाइ योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।
त्यसैगरी, संघ र प्रदेशबीच आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनमा देखिएका समस्या समाधान तथा स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै विकास निर्माणका कामलाई गति दिने विषयमा समेत छलफल भएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १५:५८ शुक्रबार



