राजनीति

निर्वाचन व्यवस्थापनको लागि छलफल

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा समसामयिक सुधारका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ। 

आयोगका अनुसार नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो। छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधारलगायत विभिन्न विषयमा सुझाव लिइएको आयोगले जनाएको छ। 

छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन र व्यवस्थापनका क्षेत्रमा आयोगले विगतमा हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्‍याउन सुझाव दिएका थिए। 

उनीहरूले निर्वाचन व्यवस्थापनका क्षेत्रमा देखिएका पछिल्ला चुनौती सम्बोधन गर्न निर्वाचनको विधि तथा प्रक्रियामा समसामयिक सुधार गर्नुपर्नेमा जोड दिएका थिए। सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिले ल्याएका सम्भावनाको उपयोग तथा पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत उनीहरूले दिएका थिए। 

त्यस्तै, विगतदेखि अवलम्बन गरिएका रणनीतिलाई निरन्तरता दिँदै परिवर्तित समयअनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने र सम्बन्धित निकायसँग सहकार्य बढाउनुपर्नेमा पनि पूर्व पदाधिकारीहरूले जोड दिएका थिए।  

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारी पूरा गर्न वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए। उनले समयसापेक्ष रूपमा आयोगलाई थप सुदृढ बनाउने गरी काम अघि बढाइने धारणा व्यक्त गरे। 

कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबराले आयोगले निर्वाचन व्यवस्थापनमा गरेका नवीनतम कार्यबारे पूर्व पदाधिकारीहरूलाई जानकारी गराएका थिए। 

प्रकाशित: २ भाद्र २०८३ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App