उज्ज्वल थापा पाउन्डेसनले विदेशमा रहेका तथा नेपालभित्रै पनि आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा बसोबास गर्ने नेपालीलाई मताधिकार दिने सम्बन्धमा बिहीबार विभिन्न दल तथा अभियन्तासँग छलफल गरेको छ।
कार्यक्रममा आप्रवासी नेपाली नागरिकहरूको मताधिकारबारे लामो समयदेखि पैरवी गर्दै आएका सरु श्रेष्ठ र स्तम्भकार तथा लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अमन पन्तले विचार प्रस्तुत गरेका थिए। प्राविधिक तथा आर्थिक रूपमै विदेशमा रहेका र नेपालभित्र बेजिल्लामा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न सक्ने कुरामा श्रेष्ठ र पन्तले विभिन्न अध्ययन तथा तथ्य प्रस्तुत गरे।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूका बिचमा गोलमेच सम्मेलन गरी विदेशमा रहेका नागरिक तथा बेजिल्ला मताधिकारका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए।
उज्यालो नेपालका नेता श्री गुरुङले उज्ज्वल थापाले विगत १०–१२ वर्षदेखि नै अभियान सञ्चालन गेरको स्मरण गरे। प्रगतिशील लोकतान्त्रिक दलकी नेत्री मानुषी यमी भट्टराईले आर्थिक रूपमा अवसरको खोजी गर्दै विदेशमा पसिना बगाइरहेका युवा वर्गलाई कानुनी रूपमा मात्र होइन, संरचनात्मक रूपमै मतदानको अधिकारबाट वञ्चित गर्न नहुने बताइन्।
प्रकाशित: ४ पुस २०८२ ०८:५६ शुक्रबार