राजनीति

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ भन्दै समाजवादको नयाँ यात्रा सुरु गर्ने दाहालको उद्घोष

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका छन्। चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गरे।

संयोजक दाहालले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभइ नयाँ ऊर्जा प्राप्त भएको बताए। 'सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,' उनले भने।

उनका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ। 'यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,' दाहालले भने। रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उनले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताए। अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उनले जनाए।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै संयोजक दाहालले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरे। 'देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,' उनले भने।

जनयुद्धको आधारभूमिमा आएर जनयुद्ध दिवस मनाइएको र त्यसको स्मरणमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उनले देशभरिका सहिद परिवार, बेपत्ता परिवार तथा घाइते–अपाङ्गहरू यसबाट उत्साहित भएको बताए।

रुकुमपूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उनले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राखे। 'समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो। त्यो सम्भावना यहाँबाट देखिन्छ,' उनले जोड दिए।

संयोजक दाहालले रुकुमपूर्वको विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ फाल्गुन २०८२ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App