नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनको विषयलाई सरकारले अत्यन्तै हल्का र केटाकेटीपनका साथ लिएको बताएका छन्।
सरकारको सय दिनको कामकारबाहीबारे समीक्षा गर्दै थापाले सस्तो लोकप्रियताका लागि संविधानका व्यवस्थाहरू खारेज गर्ने लहडबाजी चलेको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘एउटा सानो किताब जस्तो संविधान हातमा लियो, यो फालिदिऊँ, यो ठोकदिऊँ भन्यो। भोलिपल्ट भाषण गर्यो, ताली खायो,’ सभापति थापाले भने, ‘संविधान निर्माणका बेलाका संवेदनशीलता र जटिलतालाई चटक्कै बिर्सेर अहिले भइरहेको यो अभ्यास निकै खतरनाक छ।’
उनले संविधान संशोधन र पुनरावलोकन गर्न सकिने भए पनि यसलाई लहडको विषय बनाउन नहुनेमा जोड दिए।
पहिलो र दोस्रो संविधानसभामा आफूले नजिकबाट भोगेका जटिलता स्मरण गर्दै थापाले आदिवासी, जनजाति, दलित, थारु र मधेशी आन्दोलनका भावनालाई समेटेर निकै ठूलो संघर्षपछि संविधान जारी भएको प्रस्ट पारे।
‘सम्पत्तिको अधिकारदेखि समावेशितासम्मका विषय टुंग्याउन कति कठिन थियो भन्ने कुरा अहिले बिर्सिइएको छ,’ उनले भने, ‘अहिलेका साना–साना लहडले भोलि ठूलो अवसर गुम्ने खतरा छ।’
संविधानको विषयबाहेक सभापति थापाले देशको अर्थतन्त्र र बजारको मनोबल खस्किएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। बैंकमा प्रशस्त तरलता र विदेशी मुद्राको सञ्चिति इतिहासमै उच्च रहे पनि कर्जा प्रवाह नहुनुको मुख्य कारण बजारले गुमाएको कन्फिडेन्स भएको उनले बताए।
कानुनविपरीत काम गर्नेलाई कारबाही गर्ने कुरामा कांग्रेसको पूर्ण समर्थन रहे पनि बजारमा आतंकको वातावरण सिर्जना गर्न नहुने उनको तर्क छ।
‘सबैजना तर्सेका छन्, नयाँ व्यवसाय सुरु गर्न कोही तयार छैनन्,’ उनले भने, ‘सरकारले यो वर्ष सुशासनको र अर्को वर्ष अर्थतन्त्रको भन्दै कोठा-कोठामा राखेर हेर्ने नीति नै गलत छ, यी दुवै कुरा सँगसँगै अगाडि बढ्नुपर्छ।’
दिनहुँ हजारौँ युवा विदेश पलायन भइरहेको डरलाग्दो चित्र प्रस्तुत गर्दै थापाले सरकारको सय दिनको कामले आम नागरिक र साना-मझौला व्यवसायीमा कुनै आशा जगाउन नसकेको निष्कर्ष सुनाए।
संसदको दोस्रो ठूलो दल भए पनि जिम्मेवारीका हिसाबले कांग्रेस मूल राष्ट्रिय शक्ति भएकाले देश र जनताका यी तमाम विषयमा सरकारलाई निरन्तर प्रश्न गरिरहने उनले बताए।
प्रकाशित: २१ असार २०८३ १५:४३ आइतबार



