राजनीति

१५ औं महाधिवेशन एकतामूलक बनाउन कांग्रेस नेताहरूको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र एकतामूलक रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। पूर्णबहादुर खड्का र नेता प्रकाशशरण महतले बुधबार बिपिको ४४ औं स्मृति दिवसको अवसरमा बोल्दै  यस्तो बताएका हुन्। 

नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले आगामी महाधिवेशन सहमति, निष्पक्षता र एकताको भावनाका साथ सम्पन्न हुनुपर्ने भन्दै पार्टीभित्र विचार फरक  भएपनि पार्टीको लक्ष्य संगठनको हित र मुलुकको लोकतान्त्रिक भविष्य हुनुपर्ने बताए।

उनले नेपालको लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा नेपाली कांग्रेसले ऐतिहासिक भूमिका खेलेको स्मरण गराउँदै सशस्त्र द्वन्द्वको समयमा पनि राज्यका संस्थाहरूलाई जोगाउन कांग्रेसले भूमिका निर्वाह गरेको बताउँदै हिंसात्मक माध्यमबाट राज्य सञ्चालन सम्भव नहुने तथ्य इतिहासले प्रमाणित गरिसकेको बताए। 

उनले महाधिवेशनलाई विवाद र गुटगत प्रतिस्पर्धाको केन्द्र बनाउनुको सट्टा पार्टीलाई थप मजबुत बनाउने साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । नेपाली कांग्रेस विभाजन होइन, एकताको शक्ति रहेको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

यस्तै, नेता प्रकाशशरण महतले पनि १५ औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबैको सम्मानजनक सहभागिता सहित सम्पन्न हुनुपर्ने बताउँदै महाधिवेशन निष्पक्ष हुन नसके पार्टीको आत्मा नै संकटमा पर्ने बताए। उनले कांग्रेसको शक्ति विविध विचार, पुस्ता र समूहबीच हुने खुला छलफल र विचार–मन्थनमा रहेको बताए। 

कांग्रेस कुनै एक व्यक्ति वा समूहको मात्रै पार्टी नभई सबैको साझा संस्था भएकाले सबैको विचारलाई समेट्दै अघि बढ्नु नै पार्टीको लोकतान्त्रिक संस्कार भएको महतको भनाइ थियो। 

उनले अहिले पार्टीमा सबैभन्दा ठूलो आवश्यकता सुदृढ एकता भएको बताउँदै त्यसका लागि आगामी महाधिवेशन विश्वसनीय, समावेशी र निष्पक्ष हुनुपर्ने बताए। 

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि १५औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सञ्चालन गर्ने जिम्मेवारी रहेको भन्दै उनले  सक्रिय सदस्यता वितरण, अनुशासन, विधान संशोधन तथा निर्वाचन प्रक्रियासम्बन्धी सबै विषय पारदर्शी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। 

प्रकाशित: ६ श्रावण २०८३ १८:०१ बुधबार