राजनीति

कांग्रेस विवाद: केन्द्रीय समिति पुनर्गठन हुनुपर्ने अडानमा इतर पक्ष, पुनर्गठित समितिले महाधिवेशनको मिति तोक्नु पर्ने

नेपाली कांग्रेसभित्र पार्टी एकतालाई लिएर देखिएको विवाद थप सतहमा आएको छ। संस्थापन पक्षले एकताका नाममा भ्रम फैलाएको आरोप लगाउँदै संस्थापनइतर समूहले आफूले यसअघि नै दिएको पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूको बैठकले पार्टी एकतामा आफूहरू बाधक रहेको भन्ने प्रचारलाई अस्वीकार गर्दै प्रस्ताव सार्वजनिक गरेको हो।

बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको विषयलाई लिएर संस्थापनइतर समूहले अस्वीकार्य सर्त अघि सारेको भन्ने प्रचार निराधार, भ्रामक र नियोजित रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति जुटाउने उद्देश्यसहित पाँचबुँदे जवाफ पठाइएको थियो। सोही प्रस्तावलाई अहिले सार्वजनिक गरिएको जनाइएको छ।

संस्थापनइतर समूहले पार्टीको नेतृत्व गगनकुमार थापालाई हस्तान्तरण गर्ने गरी चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट गठन हुने कार्यसमितिसँग समायोजन गरेर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि सारेको छ।

त्यस्तै, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिबाट १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने तथा महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिमा वर्तमान संस्थापन पक्षको बहुमत कायम रहने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि समेटिएको छ।

संस्थापनइतर समूहले क्रियाशील सदस्यताको विषयलाई महाधिवेशनको सबैभन्दा संवेदनशील आधारका रूपमा उल्लेख गर्दै यसअघि टुंगो लगाइएका सबै क्रियाशील सदस्यलाई स्वतः १५औं महाधिवेशनमा सहभागी गराउनुपर्ने र डिजिटल अभिलेखीकरणलाई सदस्यता नवीकरणसँग नजोड्नुपर्ने अडान पनि दोहोर्‍याएको छ।

पाँचबुँदे प्रस्ताव सार्वजनिक भएसँगै कांग्रेसभित्रको शक्ति संघर्ष र पार्टी एकताको बहस थप खुला रूपमा सतहमा आएको छ। दुवै पक्षबीच सहमति जुट्ने वा विवाद अझ गहिरिने भन्ने विषय अब आगामी छलफलले तय गर्ने देखिएको छ।

इतर पक्षको पाँच प्रस्ताव :

१) चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२) सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।

३) पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४) वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५) महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।

प्रकाशित: ३ श्रावण २०८३ २०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App