नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनको विषयमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ। समितिले असोज ३ र ४ गते हुने वडा तहको निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुनसमेत अनुरोध गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि वडा तहको निर्वाचन कार्यक्रम सुरु हुँदैछ। निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिइसकेको र उनीहरूले कार्य प्रारम्भ गरिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचनसम्बन्धी विषयमा आवश्यक छलफल गरिसकेका छन्। वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका आवश्यक तयारीसमेत सम्पन्न भइसकेको समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको भन्दै कुनै पनि अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको हो। साथै, वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई समितिले पुनः आग्रह गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा असोज २ गते जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
प्रकाशित: २ आश्विन २०८३ १९:२६ शुक्रबार



