आज दिउँसो १ बजेबाट सुरु हुने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ढिलोगरी सुरु भएको छ। करिब पौने २ बजेबाट केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक सुरु भएको हो।
यसअघि असोज २८ गतेदेखि सुरु भएको जारी बैठक कात्तिक १ गतेबाट स्थगित भएको थियो। त्यो दिन पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएकाले स्थगित भएको बैठक त्यसपछि सुरु भएको तिहार र छठ समेतलाई मध्यनजर गरेर कात्तिक १३ गते अर्थात् आजका लागि तोकिएको थियो।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र विध्वंशपछि विकसित घटनाक्रमबारे निर्णय लिन यो बैठक आह्वान गरेको कांग्रेसले जनाएको छ। यो बैठकमा नियमित १५ औं महाधिवेशन वा विशेष महाधिवेशन गर्ने विषय बढी विवादित छ।
असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका थिए। त्यसपछि उनी केही दिन अघि विशेष उपचारका लागि सिंगापुर गइसकेका छन्।
यता १५ औं महाधिवेशनको तिथिमितीबारे संस्थापन र इतर पक्षबिच ठुलो मतभिन्नता चलिरहेको छ।
प्रकाशित: १३ कार्तिक २०८२ १५:३४ बिहीबार



