नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि महालक्ष्मी उपाध्याय ‘डिना’ र डिला संग्रौलाले उमेदवारी दिने भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
डिना र डिला दुवैले पछिल्लो समय शेरबहादुर देउवा समूहबाट अलग भएर नयाँ राजनीतिक समीकरणमा अघि बढेका छन्। डिला विशेष महाधिवेशन पक्षधर भएर गगन थापा नेतृत्वको कांग्रेसमा महिला सहमहामन्त्री बनेकी हुन्। डिना भने विशेष महाधिवेशनमा सहभागी नभए पनि पछिल्लो निर्वाचनमा गगन थापा नेतृत्वबाट टिकट लिएर चुनाव लडेकी थिइन्।
डिनाको कांग्रेस राजनीतिमा लामो अनुभव छ। २०३९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी उनी १४औँ महाधिवेशनमा महिला सहमहामन्त्री निर्वाचित भएकी थिइन्। उनी दुईपटक संविधानसभा सदस्य तथा जलस्रोत राज्यमन्त्रीसमेत भइसकेकी छन्।
डिला संग्रौलाले विद्यार्थी राजनीतिबाट कांग्रेसको यात्रा सुरु गरेकी हुन्। १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनी १४औँ महाधिवेशनमा महिला खुलातर्फ सर्वाधिक मतसहित निर्वाचित भएकी थिइन्। उनी २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्।
दुवैले आफ्नो लामो राजनीतिक अनुभव, महिला तथा युवा मुद्दामा काम गरेको पृष्ठभूमि र संगठनसँगको सम्बन्धलाई महामन्त्रीका लागि आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
प्रकाशित: २० आश्विन २०८३ १२:०२ मंगलबार



