राजनीतिक नेतृत्वको कार्यशैली, जवाफदेहिता र आलोचना सहन सक्ने क्षमताबारे बहस भइरहेका बेला राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटै तराजुमा राखेर टिप्पणी गरेका छन्।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेनको प्रत्यक्ष संलग्नता नभएको भन्दै उनलाई जिम्मेवारीबाट अलग राख्न खोजिएको तर्कप्रति असन्तुष्टि जनाउँदै खनालले ओली र बालेन दुवैको नेतृत्वशैलीमाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमा उनले पत्रकार पक्राउको जिम्मेवारी प्रहरीमाथि मात्रै थोपरेर प्रधानमन्त्रीलाई उन्मुक्ति दिन खोज्ने प्रवृत्तिको आलोचना गरेका छन्। प्रधानमन्त्रीले आफू मातहतका निकायबाट भइरहेका घटनाबारे जानकारी नपाएको वा जिम्मेवारी नलिएको अवस्थामा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ्ने उनको तर्क छ।
खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले होइन।’
उनले यसलाई ओलीको विगतको अभिव्यक्तिसँग तुलना गरेका छन्। जेनजी आन्दोलनका क्रममा युवाहरूको ज्यान जाँदासमेत तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई घटनाबारे थाहा नभएको बताउने गरेको प्रसंग उल्लेख गर्दै खनालले अहिले बालेनको बचाउमा पनि त्यस्तै तर्क आउन थालेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘कल्कलाउँदा युवाको हत्या हुँदा पनि पूर्वप्रम ओली भन्दै थिए– मलाई थाहै छैन।’
प्रधानमन्त्रीलाई राज्यका संयन्त्रबाट भएका कामको जिम्मेवारीबाट अलग राख्न नमिल्ने उनको आशय छ।
खनालले ओली र बालेन दुवैलाई एउटै प्रकृतिको जवाफदेहिताविहीन नेतृत्वका रूपमा चित्रण गर्दै कडा शब्द प्रयोग गरेका छन्। उनले लेखेका छन्, ‘मुलुकमा भइरहेको यस्तो ताण्डव नृत्य थाहा नहुने प्रधानमन्त्री भनेको गाँजा खाओस् वा नखाओस्– त्यो गँजेडी नै हुन्छ। ओली होस् वा साह– त्यो नालायक नै हुन्छ।’
सधैँ ओली बालेनको तुलना
ओली र बालेनको तुलना अहिलेको घटनाले मात्र जन्माएको होइन। यी दुई नेताबीचको राजनीतिक टकराव बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा नै सुरु भएको थियो। महानगरका काममा संघीय सरकारबाट असहयोग भएको भन्दै बालेनले तत्कालीन प्रधानमन्त्री ओली र संघीय सरकारको कार्यशैलीको आलोचना गर्दै आएका थिए।
त्यसपछि २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता झापा–५ बाट आमनेसामने भए। निर्वाचनलाई पुरानो पुस्ताको स्थापित राजनीतिक नेतृत्व र नयाँ पुस्ताको वैकल्पिक राजनीतिक शक्तिबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको थियो।
निर्वाचन परिणामले बालेनको पक्षमा ठूलो मतान्तर देखायो। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत पाए। बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका थिए।
ओली लामो समयदेखि नेपाली राजनीतिमा प्रभावशाली र स्थापित नेतृत्वका रूपमा रहँदै आएका थिए। उनका अभिव्यक्ति प्रायः आक्रामक, व्यंग्यात्मक र आलोचकप्रति प्रतिवादपूर्ण हुने गरेका छन्। अर्कोतर्फ, बालेनको राजनीतिक शैली पनि परम्परागत दल र नेतृत्वलाई चुनौती दिने, छोटो र सीधा अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्ने प्रकृतिको रहँदै आएको छ।
तर चुनावमा ओलीलाई पराजित गरेर प्रधानमन्त्री बनेका बालेनमाथि अहिले आफैँ सत्ताको नेतृत्व गर्दा आलोचना र असहमतिलाई कसरी सम्बोधन गर्छन् भन्ने प्रश्न उठ्न थालेको छ।
ओलीको कार्यकालमा आलोचक, प्रतिपक्ष र असहमतिका आवाजप्रति उनको अभिव्यक्तिलाई लिएर पटकपटक प्रश्न उठ्ने गरेका थिए। जेनजी आन्दोलनका क्रममा युवाको ज्यान गएको घटनापछि पनि तत्कालीन सरकारको जवाफदेहितामाथि प्रश्न उठेको थियो।
अहिले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने घटनाले बालेन नेतृत्वको सरकारमाथि पनि त्यस्तै प्रश्न उठाएको छ। प्रधानमन्त्री कार्यालयले घटनामा प्रधानमन्त्री र उनको सचिवालयको संलग्नता नरहेको बताएको छ। तर सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले आफ्नो मातहतका निकायबाट भएका कामको राजनीतिक तथा प्रशासनिक जिम्मेवारी लिनुपर्ने बहस चर्किएको छ।
यही सन्दर्भमा मुमाराम खनालको टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनको प्रश्नको सार प्रधानमन्त्री आफैँले पत्रकार पक्राउ गर्न आदेश दिएका हुन् वा होइनन् भन्नेमा मात्र सीमित छैन। राज्यका निकायबाट भइरहेका कामबारे प्रधानमन्त्री अनभिज्ञ रहने वा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति ओलीमा होस् वा बालेनमा, स्वीकार्य हुन नसक्ने उनको सन्देश छ।
निर्वाचनमा ओलीलाई पराजित गरेर नयाँ राजनीतिक आशा र अपेक्षासहित सत्तामा पुगेका बालेनका लागि अहिलेको घटना शासनशैली र अभिव्यक्ति स्वतन्त्रताप्रतिको प्रतिबद्धता देखाउने विषय पनि बनेको छ।
ओलीसँगको चुनावी प्रतिस्पर्धामा बालेनले पुरानो राजनीतिक कार्यशैलीको विकल्प प्रस्तुत गरेका थिए। तर सत्ता सञ्चालनका क्रममा आलोचनात्मक आवाजप्रति देखाउने व्यवहारले मात्रै नयाँ र पुरानो नेतृत्वबीचको भिन्नता स्पष्ट पार्नेछ।
प्रकाशित: १३ कार्तिक २०८३ २०:३८ शुक्रबार



