राजनीति

कोशी प्रदेश सभामा बजेटमाथि छलफल

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटको विषयमा छलफल भएको छ।

असार १ गते प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्रीले सार्वजनिक गरेका बजेटको विषयमा आइतबारदेखि छलफल सुरु भएको हो।

प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले छलफलका लागि प्रस्ताव राखेपछि सुरु भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टी पार्टीकी सांसद सपना परियाले बजेट नारामा मात्रै केन्द्रित भएको बताइन्।

उनले सरकारले बर्षौंदेखि एउटै नारा लगाइरहेको भए पनि ती कार्यक्रमले के कति उपलब्धि हासिल भयो भए नभन्ने विषयलाई विश्लेषण नगरी नयाँ बजेटमा पनि त्यही कार्यक्रम दोहोर्याएको धारणा राखिन्। उनले बजेट नारामुखी भन्दा पनि कार्यान्वयनमुखी हुन आवश्यक रहेको बताइन्।

सांसद कमला दर्नालले बजेटले सरकारका नीति र कार्यक्रमलाई समेट्न खोजेको बताइन्। उनले बजेटले पिछडिएको र तल्लो वर्गका जनताका समस्यालाई सम्बोधन गर्नुपर्ने सुझाव दिइन्।

उनले बाढी पहिरो र डुबानका विषयमा पनि सरकारले ध्यान केन्द्रित गर्न आवश्यक रहेको धारण राखिन्। गम्बु शेर्पाले मन्त्रालयले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरका शीर्षकमा बजेट विनियोजन गरेको आरोप लगाए। उनले भने, ‘बजेटका कार्यक्रम हेर्दा कुन मन्त्रालयले के काम गर्ने भन्ने नै नछुट्टिने अवस्था देखिएको छ।’

उनले स्वास्थ्य र कृषिलाई बजेटले प्राथमिकतामा नराखेको गुनासो गरे। 

प्रकाशित: ७ असार २०८३ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App