राजनीति

भदौ २३-२४ हाइज्याक भयो, कमजोरी सुधारे एमाले फेरि उठ्छ: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गत वर्ष भदौ २३-२४ को जेनजी आन्दोलनमा युवा विद्यार्थीको मनसाय असल भए पनि अन्य पात्र र शक्ति केन्द्रहरूले त्यसलाई ‘हाइज्याक’ गरेको दाबी गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले कमजोरीको चेकलिस्ट बनाएर सुधार गरे एमाले फेरि उठ्ने विश्वास व्यक्त गरे।

भदौ २३-२४ स्वाभाविक घटना नभएको र फागुन २१ को निर्वाचन त्यसैको निरन्तरता भएको ज्ञवालीले बताए।

जननिर्वाचित सरकार र संसद विस्थापन गरी अगाडि आएका पात्रहरूलाई वैधता दिन निर्वाचन भएको उनको तर्क छ। यद्यपि, चुनावमा बाकस साटियो भन्ने भ्रममा आफू नरहेको बताउँदै उनले सूचना प्रविधि र एल्गोरिदमको प्रयोगमार्फत मूलधारका दलविरुद्ध फल्स पर्सेप्सन निर्माण गरिएको आरोप लगाए।

‘यो धक्का एमालेले मात्रै खाएको होइन, राणाशासनविरुद्ध लडेका र २०४६ को बहुदल, २०६३ को गणतन्त्र तथा २०७२ को संविधान ल्याउने कांग्रेस, नेकपा र मधेसवादी दलहरूसमेत विस्थापित हुने गरी सन्देहास्पद पात्रहरूको उदय भयो,’ ज्ञवालीले भने।

जनअसन्तुष्टि वा नेतृत्वका गल्तीको आडमा सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, उद्योग-व्यवसाय तथा कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र पुष्पलालका सालिक तोडफोड तथा आगजनी गर्ने २४ घण्टे विध्वंसलाई जायज ठहराउन नमिल्ने उनले बताए।

लोकतन्त्रमा शान्तिपूर्ण विरोध र निर्वाचनबाट सत्ता बदल्ने बाटो हुँदाहुँदै देशलाई दशौं वर्ष पछाडि धकेल्ने काम भएको उनको भनाइ छ।

ज्ञवालीले २०७९ मा २८ प्रतिशत रहेको एमालेको लोकप्रिय मत घटेर १४-१५ प्रतिशतमा र समग्र कम्युनिस्ट मत ४३-४४ प्रतिशतबाट २२-२३ प्रतिशतमा झरेको तथ्य स्वीकार गरे।

२०७२ मा नाकाबन्दी र आन्तरिक अतिवादलाई पार्टीको बलियो एकता, संविधान पक्षधर दलहरूको सहकार्य र जनतासँगको सम्बन्धका बलमा परास्त गरेको स्मरण गर्दै उनले भदौ २३-२४ मा भने यी तीनै पक्षमा एमाले कमजोर बनेको बताए।

विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यता लगायतका विवादले पार्टी एकता खल्बलिनु, संविधान पक्षधर शक्ति विभाजित हुनु र जनतासँगको सम्बन्ध टुट्नु पराजयको कारण बनेको उनको विश्लेषण छ।

पार्टीका आन्तरिक कमजोरी खुलेर स्वीकार गर्दै ज्ञवालीले एमाले चाहिनेभन्दा बढी सत्ता समीकरणको खेलमा लागेको र जनता तथा युवाबाट टाढिएको बताए।

‘हाम्रो कार्यशैली निकै एलिट र सरकारी जस्तो भयो, ठूला होटल र मञ्चमुखी बन्यौं अनि चुनावमा मात्रै टुरिस्ट जस्तो भोट माग्न जाने प्रवृत्ति देखियो,’ उनले भने।

पुराना दलका नेताहरूले पनि आफू स्थापित हुन एकअर्कालाई तल्लो स्तरमा आलोचना गर्दा सबै खराब रहेछन् भन्ने सन्देश गएको उनले स्वीकार गरे।

२०६४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि ‘हामी फेरि उठ्छौं’ पुस्तक लेखेका ज्ञवालीले अहिले पनि सर्त सहित एमाले पुनःस्थापित हुने दाबी गरे।

असोजको तेस्रो केन्द्रीय कमिटी बैठकले छ महिनादेखिको आन्तरिक बहसलाई ‘कट अफ डेट’ का रूपमा टुंग्याएको र बुधबारबाट सुरु राष्ट्रिय भेलाले एकताको सन्देशसहित स्थानीय निर्वाचनमा ऊर्जा दिने उनले बताए।

युवा पुस्ताले ५५-६० सालपछि मुख्यतया केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई मात्र आलोपालो देखेको र शिक्षा तथा सामाजिक सञ्जालको प्रभावले देशको प्रगतिसँग जोड्न नसकिएको उल्लेख गर्दै उनले अब युवाहरूलाई संगठनमा जोड्दै परिपक्व नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए।

‘राष्ट्रियताको रक्षा, लोकतन्त्रमाथिको प्रहारविरुद्ध लड्ने शक्ति र जनताको जीविका तथा सामाजिक न्यायको मुद्दा उठाउने एमालेको स्पेस अरू कसैले खोस्न सक्दैन,’ ज्ञवालीले भने, ‘कमजोरीको चेकलिस्ट बनाएर दरो गरी खुट्टा टेक्यो भने एमाले पुनःस्थापित हुन्छ।’

प्रकाशित: २ मंसिर २०८३ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App