राजनीति

मन्त्रीको नाम टुंग्याउने अन्तिम कसरतमा बालेन र रवि: शुक्रबार नै सबैको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता आन्तरिक छलफलमा छन् । नयाँ जनादेशसहित जनताको आशा र भरोसालाई सम्बोधन गर्ने गरी रास्वपाका शीर्ष नेताले छलफललाई निरन्तरता दिइरहेका छन् ।  

कसलाई कुन मन्त्रालय दिने? कसले दिएको जिम्मेवारी प्रभावकारी रुपमा सम्हाल्न सक्छ ? राम्रो डेलिभरी भएन भने उत्पन्न हुने जनआक्रोशलाई रोक्नल पनि अहिले नै दुरदर्शी निर्णय गर्नुपर्छ भन्ने सोचका साथ आन्त।रिक रुपमा छलफल भइरहेको रास्वपा स्रोतले जनाएको छ ।  

निर्वाचनपछि दुई दिन संसदीय मर्यादासहित आन्तरिक क्षमता विकासबारेको अन्तर्क्रिया गरेका सांसदहरू पनि अहिले जनताले गरेको अपेक्षा, आफूले पाएको मत र त्यो मतको सम्मान गर्न चाल्नुपर्ने कदममा अटल भएर काम गर्ने दृढताका साथ जनतासँग संवादमै रहेका छन् ।  

जनतासँगको सम्वाद र जनताले चाहेको विषय विभिन्न माध्यमबाट बुझ्नेक्रम जारी राख्न आफ्ना सांसद तथा नेताहरूलाई सुझाएका शीर्ष नेता भने पाँच वर्षे शासनकाल प्रभावकारी, व्यवस्थित र परिणाममुखी कसरी बनाउन सकिन्छ भन्ने छलफलमा छन् ।  

यसअघि नै प्रधानमन्त्री बालेन शाहले १६ मन्त्रालय बनाउने प्रस्तावसहितको खाका पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । बालेनको खाका बुझेपछि लामिछानेले पार्टीको योजना अनुसार १८ मन्त्रालयमै काम गर्नुपर्ने बताएका थिए ।  

अहिले आएर बालेनले आफ्नो शपथ अघि नै सरकारको टुंगो लगाउनुपर्ने भन्दै १६ वा १८ जति सदस्य भए पनि मन्त्रीको टुंगो चाँडो लगाउनुपर्ने दावी गर्दै निर्णायक छलफल गराउन माग गरेका छन् ।  

रास्वपा स्रोतका अनुसार बालेनले पटक पटक मन्त्रिपरिषद विस्तार नगर्ने भन्दै एकै पटक जेजति काम गर्ने हो एकसाथ निर्णय गर्ने अघि बढ्नुपर्ने दावी गरेका छन् ।  

उनले सरकार गठनसहित विभिन्न बहानामा समय खर्चने अवस्था नभएको भन्दै आफूहरुले टाइमलाइन बनाएर काम गर्ने, टामलाइनमा अब्बल हुने व्यक्ति अघि नै खोजी गर्नुपर्ने र सोही अनुसारको जिम्मेवारी लिएर शपथ लिएकै दिन जनतालाई सरकार आयो भन्ने अनुभूत हुने गरी काममा खटिनुपर्ने बताउँदै आएका छन् ।  

सभापति लामिछानेले पनि अब विलम्ब गर्ने कुनै पनि छुट आफूहरुलाई नरहेको बताउँदै जेजति काम गर्न सकिन्छ एक गतिमा एक साथ सबैले गर्नुपर्ने बताएका छन् ।  

यो निर्णायक छलफलमा बरिष्ठ नेता शाह, सभापति लामिछानेसहित उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णीम वाग्ले छन् ।

प्रकाशित: ११ चैत्र २०८२ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App