राजनीति

रवि र बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए।

सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए।

संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’

सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।

अहिले पनि प्रदेशहरूमा सरकार फेरबदलको त्यही प्रवृत्ति दोहोरिरहेको उल्लेख गर्दै उनले पाँच वर्षको जनादेश पाएको वर्तमान नेतृत्वले आपसमा मिलेर पूरा कार्यकाल सरकार चलाउनुपर्नेमा जोड दिए। ‘सरकारले काम गर्न सकेन भने लोकतन्त्रमा अर्को चुनावमा जनताले हटाउँछन्,’ उनले भने, ‘तर, बीचमै झगडा पारेर सरकार फेरिराख्ने र अन्योल ल्याउने काम अब दोहोरिनु हुँदैन।’

सत्तामा बस्नेले आफूलाई सधैंका लागि बादशाह ठान्ने, प्रतिपक्षले जतिसक्दो छिटो खुट्टा तानेर सत्तामा उक्लिन खोज्ने र मिडियाले पनि उत्तेजक विषयमा मात्र केन्द्रित हुने प्रवृत्ति रहे देश बर्बादीतिर जाने चेतावनी उनले दिए।

संविधान जारी भएपछि युग फेरिएको महसुस गरी आफूले नयाँ र वैकल्पिक राजनीतिक शक्तिको अभियान सुरु गरेको भट्टराईले स्मरण गरे। सोही अभियानका विभिन्न हाँगामध्ये अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो हाँगोका रूपमा उदाएको र त्यसप्रति आफ्नो सद्भाव तथा समर्थन रहेको उनले सुनाए।

यद्यपि, सत्तामा पुगेकोमा मात्र सन्तुष्ट भएर नबस्न उनले नयाँ पुस्तालाई सचेत गराए। विगतका लोकतान्त्रिक आन्दोलन र संविधानको जगमा टेकेर नै आजको परिवर्तन सम्भव भएको उल्लेख गर्दै नयाँ शक्तिहरूले आफूहरूलाई बतासे चाल जस्तो नठानी इतिहासको हेक्का राखेर गम्भीर अर्थराजनीतिक र भूराजनीतिक समस्या समाधानतर्फ लाग्नुपर्ने उनको सुझाव छ।

आन्तरिक व्यवस्थापन र शासन सञ्चालन दुवैलाई चुस्त बनाउन प्रधानमन्त्री शाह संसदीय लोकतन्त्रको विधिप्रति उत्तरदायी बन्नुपर्नेमा भट्टराईले जोड दिए।

आफू र प्रधानमन्त्री शाह दुवै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षधर भए पनि विद्यमान संविधानअनुसार संसद्, सांसद र राजनीतिक दलहरूसँग संवाद र सहकार्य गरेरै अघि बढ्नुपर्ने उनको भनाइ छ।

सत्तारूढ दलले आन्तरिक व्यवस्थापन गर्न नसकेर आर्थिक विकास र सुशासनमा चुकेमा जनतामा फेरि तीव्र वितृष्णा फैलिने र त्यसले सिङ्गो लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने खतरा रहेको चेतावनीसमेत उनले दिए।

प्रकाशित: ९ मंसिर २०८३ २०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App