पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आठ महिनाको कार्यकाललाई १०० मा ६० अङ्क दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले नयाँ पुस्ता अकस्मात् सत्तामा आएकाले सिक्ने क्रममै रहेको भन्दै ६० अङ्क दिएका हुन्।
सरकारलाई प्रथम श्रेणी बराबरको अङ्क दिए पनि भट्टराईले सिक्ने समय अब पर्याप्त भइसकेको सुनाए। अब पनि आर्थिक विकास र रोजगारी सिर्जनामा ढिलाइ गरिए जनतामा धैर्य नरहने र युवाहरूमा फेरि बेचैनी तथा विद्रोहको लहर आउन सक्ने चेतावनी उनले दिए।
जेनजी विद्रोहपछि नयाँ र पूर्वअनुभव नभएका युवाहरू अकस्मात् सरकारको नेतृत्वमा आइपुगेको भट्टराईले उल्लेख गरे। प्रधानमन्त्री शाहसँग काठमाडौं महानगरपालिकामा दुई वर्ष मेयर चलाएको बाहेक अरू शासकीय अनुभव नभएको र अन्य सहकर्मीहरू पनि नयाँ भएकाले राज्यका अङ्ग तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्न समय लागेको उनको विश्लेषण छ।
सस्तो गफ र भाषणभन्दा काममा केन्द्रित हुन खोजेको र डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह चुस्त पार्ने प्रयासलाई उनले सकारात्मक रूपमा लिए। तर, सरकारको मूल चुनौती सुशासन र आर्थिक समृद्धि भएको र त्यसतर्फ अझै पर्याप्त काम हुन नसकेको उनले औंल्याए।
मुलुकको अर्थतन्त्र कछुवा गतिमा चलिरहेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे। सन् १९७० को दशकमा नेपाल, भारत र चीनको प्रतिव्यक्ति आम्दानी लगभग बराबर रहेकामा आज चीन १० गुणाभन्दा बढी र भारत दोब्बर अघि पुगिसक्दा नेपालमा ५०-६० वर्षयता एक पटक पनि दुई अङ्कको आर्थिक वृद्धिदर हासिल हुन नसकेको तथ्य उनले पेस गरे।
बजेटअघि अर्थमन्त्रीसँगको भेटमा आफूले दुई दशकसम्म दुई अङ्कको आर्थिक वृद्धिदर र वार्षिक आठ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्न सुझाव दिएको उनले सुनाए।
श्रम बजारमा हरेक वर्ष थपिने पाँच लाख नयाँ युवा र पहिलेदेखिको तीन-चार लाख बेरोजगारी समेट्न वार्षिक आठ लाख रोजगारी अनिवार्य रहेको उनको भनाइ छ।
टुक्रेटाक्रे योजना बनाएर अर्थतन्त्रले फड्को नमार्ने बताउँदै उनले प्रधानमन्त्रीमातहत शक्तिशाली आर्थिक विकास प्राधिकरण गठन गरी ५, १० र २० वर्षे स्पष्ट योजना बनाएर अघि बढ्न प्रधानमन्त्री शाहलाई सुझाव दिए। कृषिमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधि क्षेत्रमा रूपान्तरण नगरे एक-दुई वर्षमै नयाँ पुस्ताले पनि पुरानै सङ्कट झेल्नुपर्ने उनको चेतावनी छ।
सरकारले विधि मिचेको र संसद्लाई बेवास्ता गरेको भन्ने विपक्षीको आलोचनाप्रति प्रतिक्रिया दिँदै भट्टराईले प्रधानमन्त्रीलाई विद्यमान संवैधानिक व्यवस्थाको हेक्का राख्न सुझाए। आफू र प्रधानमन्त्री शाह दुवै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षधर भए पनि संविधान संशोधन नभएसम्म संसदीय प्रणालीअनुसार संसद्प्रति उत्तरदायी हुनैपर्ने उनले बताए।
‘बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छ, दुश्मन कोही हुँदैन,’ उनले भने, ‘कर्मकाण्डी कुरा छोट्याउनु ठिकै हो, तर संसद्मा जाने, सांसदका कुरा सुन्ने र त्यहीँबाट नीति पारित गराउने विधि पालना गर्नैपर्छ।’
भारत भ्रमणमा जानुअघि देशको अभिभावकका रूपमा रहेका राष्ट्रपतिलाई शिष्टाचार र सम्मानका रूपमा समेत जानकारी नगराएकोप्रति उनले चिन्ता व्यक्त गरे।
सत्तारूढ दलभित्र देखिएको आन्तरिक कलहबारे बोल्दै भट्टराईले संसदीय व्यवस्थामा सांसदहरूले नेतृत्वमाथि प्रश्न उठाउनु स्वाभाविक भए पनि अनावश्यक दूरी बढाउन नहुने बताए।
रवि लामिछाने र बालेन शाह दुवैलाई आफूले चितवनमै भेट्दादेखि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संवाद जारी राख्न र सम्बन्ध माझिराख्न सुझाव दिँदै आएको उनले सुनाए।
पछिल्लो १० वर्षमा पटक-पटक सरकार फेर्ने विकृतिले देशमा अस्थिरता निम्त्याएको स्मरण गराउँदै उनले पाँच वर्षको जनादेश पूरा गर्न एकताबद्ध भएर सरकार चलाउन आग्रह गरे।
साथै, भोटेकोसी बाढीको तीन महिना बितिसक्दा पनि विस्थापितको पुनःस्थापनामा सरकार पछि परेको भन्दै तत्काल स्रोत जुटाएर प्रभावितको पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन उनले माग गरे।
प्रकाशित: ९ मंसिर २०८३ २०:१२ बुधबार


-600x400.jpg)
