राजनीति

आशिकाको स्पष्टीकरण : मन्दिरभित्र म मात्रै गएकी हुँ, अनुमति नभएकाले थोमस बाहिरै बसे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथभित्र प्रवेश नपाएको भन्दै स्पष्टीकरण दिएकी छिन्।

पशुपतिनाथ मन्दिर प्रवेशकै विषयलाई लिएर एक हिन्दु–मुस्लिम जोडीलाई पक्राउ गरेसँगै सांसद तामाङको श्रीमान् थोमसलाई प्रवेश गराएको तर सर्वसाधारणले प्रवेश नपाएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो।

सर्वसाधारण र पहुँचमा हुनेहरूका लागि फरक–फरक रूपमा नियम लागू गरिएको भन्दै विवाद भएपछि आशिकाले स्पष्टिकरण दिएकी हुन्।

उनले गैर–हिन्दु भएका कारण थोमसलाई पनि मन्दिर प्रवेशमा अनुमति नभएको बताइन्। भारतकी काङ्ग्रेस पार्टीकी नेत्री सोनिया गान्धी समेत नेपाल आउँदा पशुपतिनाथमा प्रवेश नपाएको उल्लेख गर्दै उनले धर्मको नियम पालना गर्नुपर्ने बताइन्।

उनले भनिन्,‘थोमस पशुपतिनाथको ढोकासम्म मात्रै पुग्नुभएको हो। भित्र छिर्ने अनुमती थिएन। जुन, भारतकी काङ्ग्रेस पार्टीकी नेत्री सोनिया गान्धी नेपालको पशुपतिनाथ आउँदा पनि छिर्नलाई अनुमति थिएन, भन्ने कुरा मलाई त्यही दिन सुरक्षाकर्मीहरूबाट थाहा भयो।’

पशुपतिनाथभित्र आफूमात्रै प्रवेश गरेको बताउँदै उनले भनिन्,‘ आफ्नो आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्म का पनि विधानहरू हुन्छन्, जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ। म मात्र मन्दिर भित्र गएको हुँ। पुजारीज्यूले मलाई माला, खाता र टिका दिनुभयो र थोमसको लागि पनि छुट्टै भाग दिनुभयो र म बाहिर आइसकेपछि थोमसलाई मैले माला र टीका लगाइदिएको हु।’

प्रकाशित: २१ आश्विन २०८३ १८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App