राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नो निर्देशनमा अवैध उत्खनन बन्द गराएको दाबी गरेकी छन्।
मंगलबारदेखि सुरु भएको रास्वपाका सांसदहरूको प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन्।
‘अवैध रूपमा भइरहेको उत्खनन रोक्न हामीले भन्दा पनि मैले नै निर्देशन दिएर हिजोबाट बन्द गरिएको छ,’ सांसद तामाङले भनिन्।
यसअघि उनले धादिङको बेनीघाट रोराङ-९ मा अवैधरुपमा बालुवा, गिट्टी उत्खनन् भइरहेको जानकारी पाएपछि रोक्न आदेश दिएको बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘म जनताले मानेर पठाएकि माननीय हुँ, मैले दिएको आदेश नमान्ने हेलचक्राई गर्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु।’
उनले सांसदको रूपमा आफ्नो प्रमुख प्राथमिकता देशमा सुशासन स्थापना र भ्रष्टाचार अन्त्य गर्नु रहेको बताइन्।
सांसद बनेपछि आफ्नो पुरानो ‘एक्सन’ शैली हराएको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफू अझै पनि एक्सनमै रहेको जिकिर गरिन्।
‘म पहिले पनि एक्सनमै थिएँ र अहिले पनि छु,’ उनले भनिन्, ‘सबैले मानेर पठाएपछि माननीय भइयो, अब कामको सुरुवात जनताको इच्छाअनुसार नै हुन्छ।’
सुशासन स्थापना गरेर भ्रष्टाचारको अन्त्य गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले दोहोर्याइन्। उनले अबका दिनमा देशमा सुशासन कायम गर्नकै लागि आफूहरू काम गर्न आएको र बिस्तारै त्यसको नतिजा देखिने बताइन्।
प्रकाशित: ३ चैत्र २०८२ १५:०८ मंगलबार



