राजनीति

राजदूत नियुक्तिमा विदेशी दबाब र अर्बौंको चलखेल हुनसक्छ : ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राजदूत नियुक्ति गर्दा सरकारले आफैँले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो मापदण्ड आफैँ लागू गर्न नसक्नुमा ‘विदेशी दबाब वा अर्बौको चलखेल’ भएको आरोप लगाए।

परराष्ट्र मन्त्रालयको मापदण्डको दस्तावेज अनुसार राजदुत नियुक्तिका लागि अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत हुन नहुने र विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको १० वर्ष हुनुपर्ने भन्ने भएपनि त्यो लागू नभएको बताए।

‘सरकारले आफैँले बनाएको मापदण्ड आफैँ मिच्यो। अमेरिकाका लागि प्रास्तावित राजदूत चिरनजंग थापा अक्सफाम एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेको देखिन्छ। स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन विश्व बैंक अन्तर्गतको आइएफसीमा कार्यरत उल्लेख छ,’ उनले भने, ‘जर्मनीका लागि प्रस्तावित शारू जोशीले युएन वुमन लगायतका अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्।’

यस्तै, उनले ओमानका लागि प्रस्तावित पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित प्रा. डा. संगम श्रेष्ठ र जापान लगायतमा सबैमा सरकारले आफैँ मापदण्ड बनाएर आफैँ लागू नगरेको आरोप लगाए।

उनले मापदण्ड विपरीत नियुक्ति सिफारिसको जवाफ संसदमा दिनुपर्ने बताए। उनले भने, ‘आफैँले बनाएको मापदण्ड आफैँ लागु गर्न नसक्नेमा दुई कारणले आउँछ। एउटा कि त विदेशी दबाब कि त अर्बौंको चलखेल। होइन भने यो मापदण्ड विपरीत सरकारले किन नियुक्ति गर्यो? यसको जवाफ हामीलाई संसदमा चाहिन्छ।’

प्रकाशित: ५ आश्विन २०८३ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App