राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ आकांक्षा पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई तत्काल रिहा गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले साइबर कानुनको प्रयोगमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएकी छन्। उनी भन्छिन्, ‘यदि सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्तिका आधारमा कुनै पनि नागरिकलाई साइबर अपराधको मुद्दा चलाइन्छ भने, कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। यसर्थ लेखेको आधारमा कारबाही गरिन्छ भने, सर्वप्रथम संसदको गरिमामय रोस्ट्रमबाट च्याट जिपिटीको सहायतामा तिन कान्ला उफ्रदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति अपमानजनक तथा विवादास्पद अभिव्यक्ति दिने सांसदको पनि निष्पक्ष कानुनी परीक्षण हुनुपर्छ।’
उनले फरक विचार राखेकै भरमा नागरिकलाई दमन गर्ने कार्य लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत भएको दाबी गरेकी छन्। उनी थप भन्छिन्, ‘फरक विचार राखेकै कारण, गुण्डा नाइके चरीलाई जोडेकै कारण आफू बदनाम भएको महसुस गर्नेले आफै हाँसी हाँसी ‘मेरो प्रेम चरीसँग थियो’ भनेर अन्तर्वार्ता दिँदै हिँडेको होइन? अनि त्यही अन्तर्वार्ताको सानो क्लिप नागरिकले सेयर गर्दा उनीहरूलाई डर, त्रास वा दमनमा राख्ने प्रयास लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत छ।’
पोखरेलले न्यायको कठघरामा अब ‘महारानी’ पनि उभिनुपर्ने जिकिर गर्दै थप्छिन्, ‘हामी निष्पक्ष न्याय, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र कानुनको समान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिन्छौँ। न्यायको कठघरामा तेजेन्द्र मात्र होइन, अब ‘महारानी’ पनि उभिनुपर्छ।’
लोकतन्त्रमा जनप्रतिनिधिलाई बोल्ने अधिकार छ भने नागरिकलाई प्रश्न गर्ने अधिकार पनि उत्तिकै सुरक्षित हुनुपर्ने उनको भनाइ छ। उनले सांसद ओलीतर्फ लक्षित गर्दै भनिन्, ‘संसदमा प्रयोग गरिएको भाषाको राजनीतिक प्रतिवाद हुन सक्छ, तर त्यसको जवाफ पक्राउ होइन। जनप्रतिनिधिले नागरिकको आक्रोश र आलोचनालाई अपराध बनाउने प्रयास बन्द गर्नुपर्छ। माननीय खुश्बु ओलीको उजुरीका आधारमा पक्राउ गरिएका दुई जना नागरिकलाई तत्काल रिहा गरियोस्।’
राप्रपा सांसद खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या, गालीगलौज र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा शनिबार चितवनबाट दुई जना पक्राउ परेका हुन्। सांसद ओलीले भने कसैको चरित्रहत्या गर्ने वा धम्की दिने कार्य स्वीकार्य नहुने भन्दै कारबाही प्रक्रिया अघि बढाएकोमा प्रहरीप्रति आभार व्यक्त गरेकी छन्।
प्रकाशित: ३ श्रावण २०८३ १०:०५ आइतबार



