राजनीति

बालेन्द्रको झापा ५ सम्पर्क कार्यालय घटनामा एआई प्रयोग गरी भ्रम फैलाइयो : जिप्रका झापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) को झापा ५ को सम्पर्क कार्यालय नजिक भएको सानो घटनालाई अतिरञ्जित गरी एआई प्रविधिको दुरूपयोग गर्दै भ्रामक तस्बिर सामाजिक सञ्जालमा फैलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले कारबाही प्रक्रिया अघि बढाएको छ।

'झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा रहेको कमल गाउँपालिका वडा नं. २ स्थित क्याम्पा बजारमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह ( बालेन ) को सम्पर्क कार्यालय रहेको घरको दक्षिणतर्फको घरधनी बसोबास गर्दै आएको कोठाको झ्यालको सिसा मिति २०८२/१०/२१ गते राति अन्दाजी १२:१५ बजे ढुङ्गाले हानी फुटाएको कुराको जाहेरी परी कारबाहीको प्रकृया अघि बढाइसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' जिप्रका झापाले सूचना जारी भनेको छ।

जिप्रकाका अनुसार कमल गाउँपालिका–२ स्थित क्याम्पा बजारमा रहेको कार्यालय नजिकको कोठाको झ्यालमा ढुङ्गा लागेर सिसा फुटेको घटनाबारे जाहेरी परेपछि अनुसन्धान भइरहेको छ। तर वास्तविक अवस्थाभन्दा फरक देखिने गरी तयार पारिएका तस्बिरहरू सामाजिक सञ्जालमा फैलाइएको पाइएकाले दोषी पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको जनाइएको छ।

सूचनामा उल्लेख छ, 'उक्त घटनाको सम्बन्धमा एआईको दुरूपयोग गरी वास्तविक घटना स्थिति भन्दा फरक पारी गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्बिर बनाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएकाले उक्त भ्रामक समाचार फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको र यस प्रकारका भ्रामक समाचार प्रचार प्रसार गर्ने जोसुकैलाई प्रचलिन कानन बमोजिम कारबाही गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'

प्रशासनले यस्ता भ्रामक समाचार र सामग्री फैलाउने जोसुकैलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित: २४ माघ २०८२ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App