सुनसरी घटनाको लिएर आन्दोलनरत हिन्दु सम्राट सेना र नेपाल सरकारबिच सहमति भएको छ।
दोस्रो दिनको छलफलपछि गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबिच आइतबार जनकपुरधाममा १३ बुँदामा सहमति भएको हो।
वार्तामा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश सनातनी, केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी र सरकारको तर्फबाट गृहमन्त्री गुरुङबिच सहमति भएको छ।
यसअघि शनिबार राति जिल्ला प्रशासन कार्यालयको अतिथि संगमको सभाहलमा गृहमन्त्री गुरुङसँग हिन्दु संघसंस्थाहरुले १३ बुँदे माग अघि सारेका थिए। तर हिन्दु सम्राट सेनाले सरकारले हामीहरूसँग कुनै सम्झौता नगरेको भन्दै असन्तुष्टि जनाएपछि आज (आइतबार) पुनः छलफल भएको हो।
शनिबार भएको १३ बुँदे सम्झौतामा ६ बुँदा थप गर्दै भाषागत रूपमा देखिएको समस्या सच्याएको सेनाका उपाध्यक्ष कृष्ण सनातनीले जानकारी दिए। उनका अनुसार धर्म र समुदायको नाममा रहेको सबै निकाय खारेज गरिने साथै हिन्दु राष्ट्रका लागि पहल गर्ने गृहमन्त्री गुरुङले प्रतिबद्धता जनाएका छन्।
दोस्रो दिनको सहमति भएसँगै हिन्दु संघसंस्थाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
जनकपुरधामस्थित होटेल यात्री निवासमा वार्ताका लागि भएको छलफल रास्वपाका सांसद रामबिनोद यादव, शिवशंकर यादव, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, एसएसपी भुनेश्वर तिवारी र धनुषाका एसपी रुपेश खड्का सहभागी भएको थियो।
प्रकाशित: १७ श्रावण २०८३ १३:१७ आइतबार