राजनीति

धम्कीपूर्ण पोस्टपछि बाबुरामले भने : यस्ता अपराधीलाई बेलैमा कारबाही गरियोस्

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रहरीको सहयोग मागेका छन्।

भट्टराईले फेसबुकमा लबकुश थापा नाम भएका व्यक्तिले आफूलाई लक्षित गर्दै आपत्तिजनक तथा धम्कीपूर्ण अभिव्यक्तिको स्क्रिनसट सेयर गर्दै राज्यले समयमै कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले एक्समा अंग्रेजीमा लेखेका छन्, ‘जेनजी विद्रोहको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा नयाँ सरकारलाई बदनाम गराउने उद्देश्यले विनाशकारी गतिविधि गर्न सक्ने आपराधिक तत्वमाथि जेनजी नेतृत्वको सरकारले समयमै आवश्यक कानुनी कारबाही गरोस्।’ त्यसपछि उनले नेपालीमा लेखेका छन्, ‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्।’

भट्टराईले जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा प्रतिगामी शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध गतिविधि गर्न सक्ने आशंका पनि व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘अन्यथा जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्न सक्छन्।’

भट्टराईलाई हिन्दु धर्म विरोधी भन्दै थापाले सामाजिक सञ्जालमा एकपछि अर्को आपत्तिजनक पोस्ट गरेका छन्। शनिबार उनले लेखेका थिए, ‘आज राति बाबुराम भट्टराईको घर जलाउने हो साथीहरू, जे पर्ला पर्ला। अति भो हाम्रो आस्थामाथिको प्रहार।’ थापाको यो अभिव्यक्तिपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रहरी तथा राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

अर्को पोस्टमा थापाले आफू कानुनी रूपमा गलत भए सरकारले आफूलाई खोजिरहन नपर्ने र नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले लेखेका छन्, ‘म कानुनी हिसाबमा गलत छु भने मलाई सरकारले खोजिराख्नु पर्दैन, म सिधै नेपाल फर्कन तयार छु। जय नेपाल आमा।’

यसैबिच, भट्टराईको सचिवालयले पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक र धम्कीपूर्ण सामग्री फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले यस्ता गतिविधिले भट्टराईको सुरक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पार्न सक्ने भन्दै संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: ८ भाद्र २०८३ ११:३७ सोमबार