राजनीति

महामन्त्रीमा पराजित भएपछि मनिष भन्छन्- परिणाम स्वीकार गर्छु, गुटबन्दी अन्त्यको प्रयास थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले निर्वाचनको परिणाम स्वीकार गर्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन्।

महाधिवेशनमा पराजयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले आफ्नो उम्मेदवारी पार्टीभित्रको अस्वस्थ गुटबन्दी र टिके प्रथा रोक्ने प्रयास भएको बताएका हुन्।

उनले निर्वाचनलाई लोकतन्त्रको सुन्दर प्रक्रियाका रूपमा अर्थ्याउँदै नेतृत्वले चुनावी पद्धति अपनाएकोमा आभार प्रकट गरे।

‘रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको यो एउटा प्रयास थियो,’ झाले भनेका छन्, ‘नेतृत्वले निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनुभयो, यसका लागि म आभारी छु।’

झाले महामन्त्रीमा निर्वाचित भएका आफ्ना मित्र आचार्यलाई आफ्नो अनुभव र क्षमताले भ्याएसम्म पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। उनले चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत हार–जितभन्दा पनि दलीय पद्धतिको विकासका रूपमा लिएको बताए।

अबका दिनमा उनी पार्टीको केन्द्रीय सदस्य र सांसदको भूमिकामा मात्र सक्रिय रहने झाले जानकारी दिए। उनले लेखेका छन्, ‘म आजदेखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहनेछु। सबैको सधैँ जय होस्।’

प्रकाशित: १२ असार २०८३ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App