नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन ठूला दल मिलेर सरकार गठन गर्ने प्रस्तावलाई जनादेशविपरीत भएको भन्दै कांग्रेसले स्वीकार नगर्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतान्त्रिक प्रणालीका अपरिहार्य अंग भएकाले सबै ठूला दल सरकारमा जाने अभ्यास उचित नहुने धारणा राखे।
उनका अनुसार तीन दल मिलेर सरकार गठन गर्दा प्रदेशसभामा प्रभावकारी प्रतिपक्षको भूमिका कमजोर हुने मात्र होइन, जनताले निर्वाचनमार्फत दिएको म्यान्डेटसमेत ओझेलमा पर्छ।
"परिणाम जे आए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। जनादेशविपरीत हुने अभ्यासलाई हामी स्वीकार गर्न सक्दैनौँ," उनले भने। थापाले विगतमा सत्ता केन्द्रित राजनीतिक अभ्यासकै कारण मुलुकमा अस्थिरता बढेको उल्लेख गर्दै अब दलहरूले अल्पकालीन सत्ता स्वार्थभन्दा लोकतान्त्रिक मूल्य र राजनीतिक नैतिकतालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले निर्वाचनअघि एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्को दलसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिकालाई नै अस्पष्ट बनाएको टिप्पणी गरे। यस्तो अभ्यासले राजनीतिक दलहरूको विश्वसनीयता कमजोर बनाउँदै गएको उनको भनाइ थियो।
सभापति थापाले कांग्रेस विगतका कमजोरीबाट पाठ सिकेर सिद्धान्त र जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रकाशित: ३ श्रावण २०८३ १२:४६ आइतबार



