'पोहोरको जाडोले पतिलाई खोस्यो, यसपालिको जाडो मलाई लिन आएजस्तो छ,' लहान–१ दलित बस्तीकी उनले भोगाइ सुनाइन्, 'पुस हाम्रा लागि काल बनेर आउँछ, आफन्त खोसेर लैजान्छ।'
झाडापखाला त सरकारी अस्पतालको औषधिले टारिदियो तर पुसको ठिही टारिदिने लत्ताकपडा छैन उनीसँग।
यति बेला मधेसका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश विपन्न परिवार ठकनीकै जस्तो पीडा भोगिरहेछन्। चिसोसँगै बाक्लिएको शीतलहर झेल्न ओढ्ने–ओछ्याउने र न्यानो लुगा नहुँदा उनीहरू सकसमा छन्।
सिरहामा पाँच दिनयता जाडो ह्वात्तै बढेको छ। बिहान हुस्सुसँगै शीतलहर फैलन थालेको छ। सर्वसाधारण जाडोले बिरामी पर्न थालेका छन्। जाडोकै कारण विगतमा थुप्रैको ज्यानसमेत गइसकेको छ।
'भगवान्ले कठ्यांग्रिँदो जाडो दिएर कष्ट दिन्छन्, सरकार हामी गरिबलाई न्यानो नदिएर कष्ट थप्छ,' लहान–१ की लक्ष्मी सदा सुनाउँछिन्। जमिनदारकहाँ मजदुरी गरेर परिवार चलाउने उनीहरू जाडोमा न्यानोे कपडा जोड्ने हैसियत राख्दैनन्। चिसो भुइँमा पराल ओछ्याएर सुत्छन्। त्यसैको धुनी बालेर शरीर तताउँछन्। चिसोले दिनभर बाहिर निस्कन नसक्दा मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता रहेकालाई चुलो बाल्नौ धौधौ पर्छ।
मजदुरी गरी कमाएको पैसाले बालबच्चा र आफ्नो पेट भर्नै हम्मे पर्ने उनीहरू बताउँछन्। 'मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने?,' सुशीला सदा भन्छिन्, 'सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन।'
चिसो सुरु भए पछि गत वर्ष नगरपालिकाले दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न बस्तीसम्म पुगेन। न त संघसंस्था र व्यक्तिले बाँडेका कम्बल पुगे। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ।
चिसोले विपन्न समुदाय जोखिममा परिसके पनि स्थानीय प्रशासनले उनीहरूलाई जोगाउन पहल थालेको छैन। विगतमा चिसोले मृत्यु भएका घटना सार्वजनिक भएपछि मात्रै प्रशासले न्यानो कपडा, दाउरा वितरण गर्दै आएको छ। मृत्यु हुनेमा मधेसी समुदायका विपन्न नै बढी हुन्छन्।
शीतलहर छल्न सास्ती
सप्तरी– चिसो बढेसँगै यहाँका विपन्न समुदाय पनि परालको भरमा जाडो काट्नुपर्ने बाध्यतामा छन्। प्रशासनले उनीहरूलाई सघाउन पहल थालेको छैन।
'कहिलेकाहीँ त कठ्यांग्रिएर मरिन्छजस्तो लाग्छ,' लौनियाँ–९ की कजरी मरिकले भनिन्, 'आफूभन्दा पनि बालबच्चाको चिन्ताले पिरोल्छ।' पाँच वर्षअघि चिसोकै कारण उनले पति गुमाएकी थिइन्। अहिले पनि लुगाफाटो किन्ने खर्च नहुँदा चिसोमा बालबच्चालाई नांगै राख्नुपरेको मरिकको गुनासो छ। 'हामी डोम समुदायलाई हातमुख जोर्नै समस्या छ, लुगा कहाँबाट किनूँ,' उनले भनिन्। हावासमेत नछेक्ने छाप्रामा उनका पाँच बालबालिका परालमा गुटमुटिएर सुत्छन्।
राजकुमार मरिकको समस्या पनि उस्तै छ। गत वर्ष चिसोकै कारण ६० वर्षीया हजुरआमा धनवन्तीलाई गुमाएका थिए। 'उमेरै नभई शीतलहर र चिसो खेप्न नसकेर हजुरआमाको मृत्यु भएको हो,' उनले भने।
जिल्लाभर करिब १ हजार २ सय डोम छन्। जाडोमा ती सबैले उस्तै कष्ट झेल्नुपर्छ। डोम उत्थान समाजका सप्तरी अध्यक्ष युक्तिलाल मरिकले चिसोका कारण बर्सेनि विपन्न डोम पीडित भइरहँदा राज्यले सहयोग नगरेको बताए।
मुसहर, वातर, चमार, किओटलगायत समुदायका लागि अभिशाप बन्छ शीतलहर। उनीहरूलाई जोगाउन जिल्लास्तरीय विपद् व्यवस्थापन समिति वा अन्य निकायको काम सन्तोषजनक नरहेको यी समुदायका अगुवा बताउँछन्। नागरिक समाज अध्यक्ष थानसिंह भन्साली भन्छन्, 'शीतलहर सुरु भएपछि मात्रै यसबाट जोगिन उपायबारे तयारी सुरु हुन्छ, योजना बनाइन्छन्, योजना कार्यान्वयन नहुँदै शीतलहर सकिन्छ।'
तीन–चार दिनयता जिल्लामा चिसो र शीतलहर बढेको छ। दिउँसोतिर घाम देखिए पनि बिहान–बेलुका चिसो हावाका कारण जनजीवन कष्टप्रद बन्दैछ।
प्रजिअ नारायणप्रसाद भट्टले दुई दिनअघि विपद् व्यवस्थापन समिति बैठक राखी चिसोमा राहत, बचाउ तथा जनचेतनासहितको कार्ययोजना निर्माण गरिएको बताए। योजना कार्यान्वयनका लागि जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जनक कोइरालाको नेतृत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको छ।
'यसरी कति दिन बाँच्ने?'
महोत्तरी– सिरक–डसना सिउने रामगोपालपुर–६ का जाहिर नदाफलाई चिसो मौसम सुरु भएलगत्तै भ्याइनभ्याइ हुन्थ्यो। तर, मंसिर दोस्रो सातादेखि चिसो बढे पनि अहिलेसम्म उनले एउटै काम पाएका छैनन्। 'चिसो आएलगत्तै कामले भ्याइनभ्याइ हुन्थ्यो,' नदाफले भने, 'तर, यसपालि त कामै पाइएको छैन।'
ग्राहकको सिरक–डसना सिउनुका साथै आफैंले सामग्री खरिद गरी रेडिमेड सिरक–डसना बनाएर राम्रो व्यापार गरेको बताउने नदाफले यसपालि सिजनअनुसार काम नपाएको दुखेसो पोखे। 'बन्द–हडतालले गर्नु गर्यो्,' उनले पीडा पोखे, 'काम गरेर खान पनि नपाइने भयो, यसरी कति दिन बाँच्ने?'
शीतलहर बढेपछि काम गर्न नसकिने भएकाले त्यसअघि नै सकेजति धेरै कमाइ गरेर परिवारको गर्जो टार्नुपर्ने बाध्यता उनलाई छ। 'जाडोमा लाउन न्यानो लुगा छैन, बाहिर निस्केर काम गर्न पनि सकिँदैन,' उनले भने, 'यसपालि गाह्रो पर्लाजस्तो छ।'
नदाफले आसामबाट सिरक–डसना सिउने काम सिकेर आएपछि ०३६ सालदेखि रामगोपालपुर बजारमा यही काम गर्दै आएका छन्। तराईमा जारी बन्द र आन्दोलनका कारण कसैले पनि यसपालि न्यानो कपडा जोहो गरेका छैनन्। 'बन्दले खान–लाउनै धौधौ छ, सिरक–डसना कसरी सिलाउनु?,' स्थानीय कमलेश सिंहले भने।
प्रकाशित: ३ पुस २०७२ २०:४४ शुक्रबार



