राजनीति

शक्तिशाली कम्युनिस्ट पार्टी गठन

नेपाल कम्युनिस्ट पार्टी घोषणा सभामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत। तस्बिर : नागरिक

काठमाडौं – मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। गत असोज १७ गते एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका दुवै वामपन्थी दल सात महिनापछि औपचारिक रुपमा एकीकृत भएका हुन्। एकीकरण घोषणासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ।

२०१९ सालपछि विघटन र टुटफुट हुँदै आएको कम्युनिस्ट पार्टी यो तहमा एक भएको पहिलो घटना हो। वर्तमान संघीय संसद्मा एमाले पहिलो दल (१२१ सिट) र माओवादी तेस्रो दल (५३ सिट) को हैसियतमा छन्। दुई पार्टी मिलेपछि अब प्रतिनिधिसभामा नयाँ पार्टीको एक सय ७४ सिट हुनेछ । यो संघीय संसद्मा झन्डै ६४ प्रतिशत हो। एकीकरण भएपछि ५२ प्रतिशतभन्दा बढी जनमत नेकपाको पोल्टामा परेको छ। यी दुई दलले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरी चुनाव लड्दा झन्डै दुईतिहाइ बहुमत पाएका थिए। केन्द्रसहित ६ वटा प्रदेशमा वाम गठबन्धनको एकलौटी सरकार गठन भएको छ।

निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गरेपछि आयोजित घोषणासभामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले नयाँ युगको सुरुभएको घोषणा गरे। ‘आज नयाँ युग सुरु भएको छ। अब अस्थिरता र अराजकता सकिएको छ,’ ओलीले भने, ‘राजनीतिक स्थिरता, शान्ति र समृद्धिको युग सुरु भएको छ।’ अध्यक्ष ओलीले नयाँ पार्टीले मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लैजाने संकल्प गरेको घोषणा गरे।

अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणले नेपालमा मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु-याएको टिप्पणी गरे। ‘मैले त भनेको थिएँ– एकीकरणका लागि पुल भत्काएर आएका छौं। ओलीजीले भन्नुभएको थियो– खुट्टा ताछेर भए पनि जुत्ता मिलाउँछौं,’ दाहालले भने, ‘हाम्रो उद्देश्य मुलुकलाई स्वाधीन, सुदृढ र समृद्ध बनाउने हो, अब यो अभियान सुरु भएको छ।’ नयाँ पार्टीले सामाजिक न्याय, विकास, समृद्धि र समाजवादको आधार तय गर्ने दाहालले बताए।

‘केन्द्रमा मात्रै होइन, हामीले सातमध्ये ६ वटा प्रदेशमा सरकार बनाएका छौं। स्थानीय सरकारमा पनि बहुमत स्थानमा यही पार्टीले जित हासिल गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘अब कसैलाई गल्ती गर्न छुट छैन, विकास र समृद्धिको यात्रामा सबैले मेहनत गर्नुपर्छ।’ तीनै तहमा वामपन्थी नेतृत्वको सरकार भएकाले मेहनतका साथ काममा लाग्न प्रधानमन्त्री ओलीले सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।

नेताहरुले पार्टी एकीकरण प्रक्रिया लम्बिँदा नेताकार्यकर्तामा निरासा छाएको स्वीकार गरेका छन्। ‘पार्टी एकता होला कि नहोला भन्ने शंका थियो। मैले हिजो ओलीजीलाई मदन आश्रित स्मृति दिवसमै पार्टी एकता गर्नुपर्छ भनेर प्रस्ताव गरेको थिएँ, आज भयो। यो मेरा लागि गौरवको विषय हो,’ घोषणा सभामा दाहालले भने।

एकीकरणलाई अन्तिम रुप दिन एमाले र माओवादीका नेताहरुले बिहीबार पटकपटक बैठक आयोजना गरेका थिए। बिहानै बल्खुमा आयोजित मदन–आश्रित स्मृतिसभामा ओली र दाहाल दुवैले सम्बोधन गरेका थिए। त्यसलगत्तै दुवै नेता बालुवाटार पुगेर एकता संयोजन समिति बैठकमा सहभागी भएका थिए। एकता संयोजन समिति बैठकले नौ सदस्यीय केन्द्रीय सचिवालय गठन र केन्द्रीय समिति ४५ सदस्यीय बनाउने निर्णय लिएको नेता ईश्वर पोखरेलले बताए।

आठ सदस्यीय पार्टी एकता संयोजन समितिमा एमाले उपमहासचिव विष्णु पौडेललाई थप गरी ९ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्ने निर्णय संयोजन समिति बैठकले गरेको थियो। केन्द्रीय सचिवालयको मर्यादाक्रमको पहिलो नम्बरमा अध्यक्ष ओली रहेका छन्। त्यसपछि अध्यक्ष दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् । नेपाल र खनाल वरिष्ठ नेताको हैसियतमा छन्। सचिवालयमा नियुक्त पौडेलले महासचिवको जिम्मेवारी पाएका छन् भने श्रेष्ठलाई प्रवक्ता तोकिएको छ। स्रोतका अनुसार दुई सदस्य थपेर सचिवालयलाई ११ सदस्यीय बनाइनेछ। सचिवालयमा जनार्दन शर्मा र गोकर्ण विष्टलाई लगिने स्रोतले बतायो।

एकता संयोजन समितिको बैठकपछि बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक बसेको थियो भने अध्यक्ष दाहालको निवास खुमलटारमा माओवादी केन्द्रको बैठक बसेको थियो। दुवै दलको बैठकले एकता संयोजन समितिको निर्णयलाई पारित गरी स्वामित्व लिएको थियो। यस्तै दुवै दलले आआफ्नो पार्टी विघटन भएको निर्णय गरेका थिए।

दुवै पार्टीले एकता संयोजन समितिको निर्णयको स्वामित्व लिएलगत्तै बालुवाटारमा फेरि केन्द्रीय समितिको संयुक्त बैठक बसेको थियो।

उक्त बैठकमा अध्यक्ष दाहालले नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समिति ४४१ सदस्यीय, स्थायी समिति ४५ सदस्यीय रहने तथा राजनीतिक र विधान प्रतिवेदनलगायतका प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव एकमतले पारित भएको थियो। सोही संयुक्त केन्द्रीय समितिले एमालेका सुवासचन्द्र नेम्वाङ र माओवादीका देव गुरुङलाई निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जिम्मेवारी तोकेको थियो। तर पार्टी दर्ताका लागि पनि अध्यक्षद्वय ओली र दाहाल पनि निर्वाचन आयोग पुगेका थिए। आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि राष्ट्रियसभामा आयोजित घोषणा सभामा अध्यक्षद्वय ओली, दाहाललगायत शीर्ष नेताहरुले सम्बोधन गरेका थिए। घोषणा सभामा वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टीको घोषणापत्र वाचन गरेका थिए।

स्थायी समिति ४५ सदस्यीय, केन्द्रीय समिति टुंगिन बाँकी
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई गठित नेपाल कम्युनिस्ट पार्टीमा ४५ सदस्यीय स्थायी समिति हुने भएको छ । स्थायी समितिमा रहने नेताहरुको पनि टुंगो लागेको छ । तर केन्द्रीय समितिका सदस्यहरुको भने टुंगो लागेको छैन।

स्थायी समितिमा एमालेका २६ र माओवादीका १९ जना समावेश भएका छन्। नेकपाको स्थायी कमिटीमा एमालेका एक जना स्थायी कमिटी सदस्य छुट्ने भएपछि दुवैतर्फबाट एकएक सदस्य थपी स्थायी समिति ४५ सदस्यीय बनाइएको हो। यसअघि स्थायी समिति ४३ सदस्यीय बनाउने सहमति भएको थियो।

स्थायी समितिमा एमालेबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र ईश्वर पोखरेल रहेका छन्। यस्तै विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई एमालेबाट नेकपाको स्थायी समितिमा समावेश भएका छन्। एमालेबाट स्थायी समितिमा समावेश हुने अन्य नेतामा सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, किरण गुरुङ, अमृत बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र पुष्प कँडेल छन्।

नवगठित पार्टीमा माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, अमिक शेरचन, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन्। यस्तै देव गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, हरिबोल गजुरेल, लीलामणि पोखरेल र राम कार्की नेकपाको स्थायी समितिमा परेका छन्। स्थायी समितिमा माओवादीतर्फबाट एकजनाको नाम दिन बाँकी छ।

दाहाल र ओलीले बालुवाटारमा रूख रोपे
पार्टी एकीकरणको औपचारिक घोषणाअघि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा वृक्षरोपण गरेका छन्। अध्यक्षद्वयले जापानमा अणु बम प्रहार हँुदा पनि नमरेको भनिएको ‘जिन्को वाइलोवा’ नामक रूख रोपेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

बालुवाटारमा रात्रिभोज
दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण घोषणा समारोहको खुसीयालीमा बिहीबार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोज दिएका छन्। सो रात्रिभोजमा विघटित दुवै पार्टीका केन्द्रीय सदस्य, सांसदहरु, भ्रातृ संगठनका नेताहरु सहभागी थिए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०२:०३ शुक्रबार

कम्युनिस्ट पार्टी गठन