राजनीति

यूएई पुगेर कुलमानले भने- जुन बेला म जनताका लागि काम गर्छु, सरकारले मलाई बर्खास्त गर्छ

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यूएई पुगेर सरकारले आफूलाई गरेको बर्खास्तको विरोध गरेका छन्। मङ्गलबार (आज) यूएईमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिसिङ यसबारे बोलेका हुन्।

उनले आफूले जनता र देशका लागि काम गरेकै बेला सरकारले कारबाही गर्ने गरेको सुनाए। ‘म जुन जुन बेला, जुन जुन क्षेत्रबाट देशको लागि, जनताको लागि केही काम गर्छु, केही सफलता हासिल गरेको हुन्छु र केही रिजल्ट पनि आएको हुन्छ, त्यही त्यही बेला सरकारबाट मलाई बर्खास्त गर्ने, सरकारबाट अन्यायपूर्वक, अपमानपूर्वक बर्खास्ती गर्ने काम भएको छ। योचाहिँ एकपटक होइन, दुईपटक होइन, धेरैपटक भएको छ,’ उनले भने।

उनले आफूले सरकारबाट सम्मानको अपेक्षा गरेको तर, आफ्नो अपेक्षाविपरीत अपमान पाउने गरेको उनले पनि सुनाए। ‘विद्युत्‌को क्षेत्रमा मैले धेरै काम गरेँ। त्यो कामबाट मैले सरकारबाट सम्मान पाउँछु लागेको थियो तर, मेरो भाग्य भन्नुस्- सधैँ नै जुन मैले जनताको लागि काम गरेँ, त्यो बेला पनि मलाई अपमानपूर्वक कारबाहीस्वरूप दुई वर्षसम्म राखियो। विगत लामो समयदेखि तपाईंहरूले देखिरहनुभएको छ, ९ महिनासम्म मलाई ६/७ वटा स्पष्टीकरण सोधियो। त्यसपछि मलाई बर्खास्त गरियो,’ उनले भने।

यूएईमा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै कुलमान घिसिङ

घिसिङले आफूले जनतामा आशा जगाउने काम गर्न खोजे पनि त्यसलाई सरकारबाटै निराशामा परिणत गर्ने काम भइरहेको पनि जिकिर गरे। ‘म सधैँ आशा जगाउने काम गर्छु जनताको बीचमा, देशको, अर्थतन्त्रको एउटा आशा जगाउने काम, आत्मविश्वास जगाउने काम गरिरहेको हुन्छु। तर, त्यसको विपरीत निराशातिर परिणत गर्ने काम भइरहेको हुन्छ,’ उनले भनेका छन्।

उनले आत्मविश्वास र आशा नै महत्त्वपूर्ण विषय भएको औँल्याए। यदि आत्मविश्वास जगाउन नसकिए देश, समृद्धि र अर्थतन्त्र बन्न नसक्ने उनले बताए। ‘जब मान्छेमा आशा निराशामा परिणत हुन्छ, त्यसपछि मान्छे आत्महत्यातिर अगाडि बढ्छ। आज देश पनि त्यतैतिर अगाडि बढ्न खोजेको हो कि कसो हो ? यो विषय गम्भीर विषय हो,’ उनले भनेका छन्।

‘जनता नै मेरो शक्तिको स्रोत’

घिसिङले आफ्नो शक्तिको मुख्य स्रोत जनता नै भएको पनि बताएका छन्। उनले भने, ‘सरकारले के गर्‍यो भनेर हेरेको छैन मैले, कुन निकायले के गर्‍यो भनेर हेरेको छैन। मेरो शक्तिको स्रोत देश विदेशबाट जुन सम्मान तपाईंहरूले दिनुभएको छ, जुन अभिनन्दन गरिरहनुभएको छ, त्यो नै मेरो लागि सबैभन्दा ठूलो शक्तिको स्रोत हो। सबैभन्दा मेरो शक्ति र आत्मबलको स्रोत तपाईंहरू हो।’

कुलमान घिसिङलाई सम्मान गरिँदै।

उनले सामाजिक सञ्जाल, सडकबाट पाएको जनसमर्थन नै आफ्नो लागि प्रमुख स्रोत भएको दोहोर्‍याएका छन्। ‘सामाजिक सञ्जालबाट, सडकबाट जनताले कुलमान घिसिङको पक्षमा बोलिरहनुभएको छ, त्यही नै मेरो ठूलो सम्मान हो। म कसैको विरोध गर्दिनँ। सरकारले के गर्छ, मैले हेरेको छैन,’ उनले भनेका छन्।

उनले अब देश (नेपाल) जनताले नै बनाउनुपर्ने बताए। ‘अब हामीले देश बनाउने हो, तपाईंहरू; युवा शक्तिले बनाउने हो। सबै मिलेर विदेशमा बसेका दाजुभाइ दिदीबहिनी र हामी सबै मिलेर देश बनाउनुपर्छ। मैले केही पनि भएको छैन भन्दिनँ। केही भएको छ, त्यसलाई अब समृद्ध बनाउनका लागि तपाईं-हामी एक भएर लागेनौँ भने तपाईंले फेसबूकमा मात्रै हालेर, फेसबूक र टिकटकमा चाहिँ विरोध गरेर केही हुनेवाला छैन। तपाईंहरू अब सङ्कल्प लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु

प्रकाशित: २४ असार २०८२ १८:२८ मंगलबार

#NagarikNews #kulmanghising