लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।
बिहीबार (हिजो) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितको सहभागितामा गम्भीर राजनीतिक छलफल भएको र सुमना श्रेष्ठको संयोजकत्वमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका भण्डारीले त्यसपछि पनि लगातार दुईवटा स्टाटस लेखेका थिए।
तर, उनले ती तीनवटै स्टाटस हटाइसकेका छन्। आफ्नो पहिलो स्टाटसमाथि समाचार बनेपछि उनले हिजै साँझ ६ बजेतिर ‘मिडियाले गलत बुझ्यो’ भनेर अर्को स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले भनेका थिए, ‘मिडियाले गलत बुझ्यो, नयाँ पार्टी खोल्न लागेको होइन, सबै समाहित भएर नयाँ नाम फेर्न खोजेको हो।’
उनको त्यो स्टाटसको पनि तीव्र आलोचना भएको थियो। त्यसपछि उनले शुक्रबार (आज) आज बिहान अर्को स्टाटस लेखेका थिए। जहाँ, उनले रास्वपाकै नाम फेर्नेबारे मात्रै कुरा भएको बताएका थिए। ‘नयाँ पार्टीको कुरा होइन, रास्वपाको नाम फेर्ने अनि बालेन-हर्कहरू जोडिनेबारे छलफल भएको हो,’ उनको तेस्रो स्टाटसमा भनिएको थियो।
तर, अहिले उनले ती सबै स्टाटसहरू हटाइसकेका छन्। सर्वप्रथम: यहीँबाट उनका स्टाटसहरू ‘हावादारी’ रहेछ भन्ने पुष्टि हुन्छ। दोस्रो, उनले स्टाटसमार्फत जे-जे भनेका थिए, ती कुराको सम्बन्धित पक्षहरूले खण्डन गरिसकेका छन्।
भण्डारीले गम्भीर छलफल भएको भनेर दाबी गरेकामध्ये हर्क साम्पाङले बिहानै फेसबूक स्टाटसबाटै खण्डन गरेका छन्। ‘हर्क-बालेनसहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रहेछ। त्यस्तो कुनै भर्च्यूअल मीटिङ नबसेको सबैलाई जानकारी गराउँदछु,’ हर्कले भनेका छन्।
यता रास्वपा नेताहरूले पनि यसबारे अनभिज्ञता प्रकट गरेका छन्। रास्वपा नेताहरू डा. तोसिमा कार्की, हरि ढकाललगायतका नेताहरूले यसबारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञाता प्रकट गरेका छन्। ढकालले भनेका छन्, ‘सुमनाजी र हामी पनि आश्चर्यचकित छौँ। त्यस्तो कुनै कुरा छैन।’ यता बालेनले भने अहिलेसम्म केही भनेका छैनन्।
त्यसो त भण्डारी नेपालमा रहँदासम्म नेकपा (एमाले) निकट भनेर निचिन्थे। तर, पछिल्लो समय भने उनी रास्वपानिकट मानिन्छन्। नेपालका हरेक राजनीतिक घटना र सन्दर्भबारे प्रतिक्रिया ‘जनाउनैपर्ने’ उनको अहिले तीव्र आलोचना भइरहेको छ।
यो पनि पढ्नुहोस्
बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउने 'सहमति' !प्रकाशित: ३० जेष्ठ २०८२ १५:३२ शुक्रबार