गत सालको असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार गठन गर्ने सहमति हुँदै गर्दा जनताले अपेक्षा गरेका थिए कि अब त केही होला !
संविधान संशोधन जस्तो ठूलो 'अजेन्डा' देखाएर संसदीय अभ्यासविपरीत गठबन्धनमा बाँधिएका पहिलो र दोस्रो ठूला दल कांग्रेस-एमालेको सरकार प्रकारान्तरले अरु सरकारहरूभन्दा फरक देखिएको छैन।
राजावादीहरू सक्रिय हुनु, सदन अवरुद्ध हुनु, सडक खाली नहुनु, सरकारको आलोचना बढ्दै जानु; यी सबै घटनाक्रमले पनि वर्तमान सरकार अरु सरकारहरूभन्दा फरक देखिएको छैन भन्ने कुरामा बल पुर्याउँछन्।
गठनको ११ महिनामा हिँड्दै गरेको सरकारले संविधान संशोधनको अजेन्डा त पाँच वर्ष उता ठेलेकै छ। अहिले त अवस्था यस्तो छ कि सरकारका दुई ठूला दल कांग्रेस-एमालेबीच नै मिल्ती छैन।
'केपी शर्मा ओली नेतृत्वको कांग्रेसको सरकार' भन्ने गरेको कांग्रेस अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै सन्तुष्ट छैन। त्यसमा पनि संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, एनपी साउदलगायतका नेताहरू झनै सन्तुष्ट छैनन्।
शुक्रबार (आज) कोशी प्रदेशको राजधानी विराटनगर झरेका गगन थापाले सरकार चल्नुपर्ने गतिमा नचलिरहेको भन्दै असन्तुष्टि पोखे। 'सरकार जुन गतिमा चल्नुपर्ने हो, जुन परिणाम दिनुपर्ने हो, त्यो भइरहेको छैन। यसमा गम्भीर समीक्षाको आवश्यकता छ,' उनले भने।
उनले यसबारे पार्टीको नेतृत्व तहमा छलफल भइरहेको बताए। 'पार्टीको नेतृत्व तहमा बसेका हामीहरू केही दिनयता अनवरत छलफलमा छौँ। अब केही दिनभित्र पार्टीको केन्द्रीय समिति बैठक बस्छ। बैठकको मुख्य अजेन्डा भनेको चाहिँ हामी आफैँ सम्मिलित भएको सरकारलाई थप प्रभावकारी कसरी बनाउने, हाम्रो अपेक्षाअनुरूपको कामहरू कसरी गराउने, कहाँ कहाँ सुधार गराउनुपर्ने होला भन्ने हुन्छ,' उनले भने।
थापाले पार्टी सभापति शेरबहादुर देउवा नै पनि खुसी नरहेको सङ्केत गरे। त्यसो त देउवा त्यति बोलक्कड नेता होइनन् र यसबारे सार्वजनिक मञ्चहरूमा केही बोलेका छैनन्। सार्वजनिक मञ्चहरूमा 'ओलीजी र जेलमेट हौँ, साथ दिनुपर्छ' बाहेक प्रधानमन्त्री ओलीबारे केही नबोल्ने गरेका देउवाले पार्टीको नेतृत्व तहमा भने सरकारबारे समीक्षा गर्ने गरेको थापाले बताएका छन्।
त्यसो त यो देउवा यो गठबन्धनका 'वेटिङ' प्रधानमन्त्री हुन्। सरकार गठन भएयता नै 'डिफेन्सिभ' रहेका उनी नबोली-नबोली नै ओलीको प्रधानमन्त्रीत्वकाल कटाउने रणनीतिमा देखिन्छन्।
यो पनि पढ्नुहोस्
देउवा पनि सरकारको गतिसँग सन्तुष्ट नरहेको गगनको खुलासाप्रकाशित: २३ जेष्ठ २०८२ १७:१० शुक्रबार