प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा एकै दिन ६४ वटा सडक निर्माण योजनाको डिजिटलबाट शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेश अब पछाडि नभई अगाडि बढ्ने बताएका छन्।
आइतबार जनकपुरधामको निधि भवनमा सडक योजना शिलान्यास गर्दै प्रधानमन्त्रीले अक्षरको सुरुवात हुनुअगाडि नै ज्ञानको मन्थन हुने मधेस पछाडि हुनुको प्राकृतिक कारण नभएको चर्चा गर्दै कृत्रिम कारणले वर्षौंसम्म पछाडि पारिएको दाबी गरे।
मधेसमा विकासले गति लिने दाबी गर्दै ओलीले यहाँ देखिएका सम्पूर्ण समस्याको समाधान खोजिने उल्लेख गरे। ‘भ्रष्टाचारभन्दा पनि ठूलो भ्रष्टाचार हो ढिलासुस्ती। अब ढिलासुस्ती सह्य हुने छैन’, उनले भने, ‘योजना पूरा गर्न भइरहेको ढिलासुस्ती नियन्त्रण गरिने छ।’
मधेसमा भूमिगत पानी सुक्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नारा मात्र लगाएर चुरे संरक्षण नहुने बताए। वृक्षरोपणभन्दा पनि वृक्ष जोगाउनेमा सरकार बढी केन्द्रित हुने बताउँदै उनले मधेसको जीवन रेखा मानिएको चुरे संरक्षणमा सरकार गम्भीर भएर लाग्ने आश्वासन दिए। उनले भने, ‘चुरे संरक्षणका नाममा धेरै समय र पैसा खर्च भयो, तर उपलब्धि देखिएन। अब उपलब्धिमूलक ढंगले काम अघि बढ्छ।’
प्रधानमन्त्री ओलीले रकेटको चालमा देश विकास गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै अब मधेसमा पनि विकासको लहर आउने दाबी गरे। ‘मधेसमा गुणस्तरीय विकासको खाँचो छ’, उनले भने, ‘मैले आज शिलान्यास गरेको सडक निर्माण कार्य गुणस्तरीय ढंगले भई प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु।’
प्रधानमन्त्री ओलीले ऐतिहासिक पवित्र भूमि र जागरणको केन्द्र मानिएको मधेस प्रदेशमा अब विकासले तीव्रता पाउने बताए। उनले भने, ‘यो प्रदेश जागरण र जागरुकताको केन्द्र हो।
राम–जानकीको ऐतिहासिक पवित्र भूमि हो। कवि, साहित्यकार, विद्वान् र चिन्तक जन्मिएको यो भूमि प्राचीन र प्राज्ञिक भूमि हो। यस महान् भूमिले पछ्यौटे हुने वास्तविक कारण थिएन, तर कृत्रिम कारणले पछाडि प¥यो। अब यस प्रदेशमा तीव्र गतिले विकासको लहर चल्छ।’
मधेस सरकार गठनपछि पछिल्लो समय यहाँ विकासका काम प्रशस्तै भएको उनले बताए। ‘आवास कार्यक्रमबाट १० हजारभन्दा बढी गरिब सीमान्तकृत जनताले घर पाएका छन्। बाटो चौडा भएका छन्। जनकपुरमा रेल कुदेको छ। यसलाई अझै विस्तार गर्नुपर्छ।
रेलको बाटो बर्दिबाससम्म पुर्याउने हाम्रो योजना छँदै छ’, उनले भने, ‘जनकपुरमा पनि रेलको संख्या थप्नुपर्ने छ। हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्ना मान्छेलाई तालिम दिँदैनौं’, उनले भने, ‘बाहिरबाट मान्छे ल्याएपछि घाटा हुनु स्वाभाविकै हो। अब यहीं तालिमको व्यवस्था गर्दैछौं।’
मधेसमा छोरी जन्मिए पिर नगर्न सुझाउँदै प्रधानमन्त्री ओलीले भने, ‘बुढेसकालमा छोराले स्याहार गर्छन्, तर छोराभन्दा बढ्ता छोरीले स्याहार गर्छिन्। त्यसैले छोरी जन्मिएकोमा खुसी हुनुस्’, उनले भने।
प्रधानमन्त्री ओलीले सुनकोसी–कमला–मरिण डाइभर्सनको काम समयमै पूरा नगरे ठेक्का रद्द हुन सक्ने चेतावनीसमेत दिए। ‘एउटै आयोजना पूरा गर्नका लागि २० वर्ष पर्खने धैर्य जनता र सरकारलाई छैन’, उनले भने, ‘अब ढिलासुस्तीले चल्दैन। भ्रष्टाचारभन्दा ठूलो अपराध काममा ढिलासुस्ती हो अब ढिलासुस्ती नियन्त्रणमा पनि सरकारले कडाइको साथ ध्यान दिन्छ।’
बाँध निर्माण र विद्युत् उत्पादन गृह ठेक्का सम्झौता अवधिको ४५ प्रतिशत समय पूरा भइसक्दा पनि प्रगति भने सात प्रतिशतभन्दा उकालो लाग्न नसकेकाले कामको रफ्तार बढाई तोकिएकै समयमा सम्पन्न गर्न उनले सुझाव दिएका छन्। पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्ने गरी २०७९ माघमा सम्झौता गरी काम अघि बढाएकोमा अहिलेसम्म करिब सात प्रतिशत हाराहारीमा मात्रै प्रगति भएको आयोजनाले जनाएको छ।
मधेस प्रदेश सरकारको योजनाको जनकपुरधामस्थित निधि भवनबाट प्रधानमन्त्री ओलीले आइतबार एकैपटक गरेको ६४ वटा सडकको डिजिटल शिलान्यास योजना मधेस प्रदेशका आठ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक पक्की सडकअन्तर्गत रहेको मधेस सरकारको भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले बताए। ती सबै सडक पाँच किलोमिटरका रहने मन्त्री यादवले बताए।
६४ निर्वाचन क्षेत्रमा गरी तीन सय २० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत सकेर शिलान्यास गरिएको छ।
यी सबै सडक निर्माणमा १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत एक सय ९८ किलोमिटर कालोपत्रे सडक निर्माण, तीन सय २६ किलोमिटर बृहत् सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत हुने छ। प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरणअन्तर्गत यो आयोजना सुरु हुन लागेको मन्त्री यादवको भनाइ छ।
प्रकाशित: १९ जेष्ठ २०८२ १०:४४ सोमबार