राजनीति

'बाँके वार्ता'ले काम नगरेपछि जनमत र नागरिक उन्मुक्तिबीच वैशाख ६ गते निर्णायक छलफल

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ।

वैशाख ६ गते पार्टी एकतालाई टुङ्ग्याउने गरी वार्ता हुने नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिकलाई जानकारी दिइन्। '६ गतेचाहिँ अन्तिम वार्ता हुनेछ,' उनले भनिन्।

यसअघि पनि निर्णायक वार्ता गर्न जनमत अध्यक्ष राउत र नागरि उन्मुक्तिका संरक्षक रेशम चौधरी आ-आफ्नो कार्यदलसहित बाँके पुगेका थिए। तर, वरीयतामा कुरा नमिल्दा वार्ता स्थगित गर्नुपर्‍यो। 'बाँके वार्तामा कुरा मिलेन,' अध्यक्ष श्रेष्ठले भनिन्, 'वरीयतामा कुरा मिलेन। अब ६ गते गर्छौँ।'

स्रोतका अनुसार अध्यक्ष श्रेष्ठकै वरीयतामा कुरा नमिलेको हो। एकीकृत पार्टीको संरक्षक चौधरी, कार्यकारी अध्यक्ष राउत र सहअध्यक्ष श्रेष्ठ भनेर क्रमश: वरीयता बाँड्ने निर्णय भएको थियो। तर, उक्त निर्णयका प्रति श्रेष्ठले असहमति जनाइन्। यसपछि वार्ता स्थगित भएको हो।

श्रेष्ठले दाबी नछोड्ने सङ्केत गरेकी छन्। 'रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्। रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला। काटेको रुख तपाईंकै टाउकोमा पनि पर्न सक्छ,' उनले यसअघि फेसबूकमा लेखेकी थिइन्।

यो पनि पढ्नुहोस्

रञ्जिता लेख्छिन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्

 

प्रकाशित: २६ चैत्र २०८१ १९:४८ मंगलबार

#janamat party #nagarik unmukti party