अन्य

यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदन

एक महिलाले ६० दिनसम्म निद्रालाई प्राथमिकता दिएर १५ लाखभन्दा बढी नेपाली रुपैयाँ जितेकी छन्। 

भारतमा आयोजित अनौठो ‘स्लिप इन्टर्नसिप’ प्रतियोगितामा दुई लाखभन्दा बढी आवेदकलाई पछि पार्दै मुम्बईकी जिनिया चटर्जी विजेता बनेकी हुन्। उनले नगद पुरस्कारसँगै प्रायोजित बिदासमेत जितेकी छन्।

घर तथा फर्निचर कम्पनी वेकफिटले आयोजना गरेको यो प्रतियोगितामा सहभागीले नियमित सुत्ने तालिका पालना गर्दै पर्याप्त निद्रा लिनुपर्ने थियो। साथै, उनीहरूले हरेक हप्ता दिइने विभिन्न रचनात्मक चुनौतीमा पनि सहभागी हुनुपर्थ्यो।

दुई लाखभन्दा बढी आवेदकमध्ये विभिन्न चरणको छनोट र अन्तर्वार्तापछि १० जना प्रतियोगी छानिएका थिए। उनीहरूले करिब ६० दिनसम्म प्रतिस्पर्धा गरेका थिए। यस अवधिमा उनीहरूको निद्राको अवधि र गुणस्तर मापन गरी दैनिक अंक दिइन्थ्यो। सोही अंकका आधारमा लिडरबोर्डमा स्थान निर्धारण गरिन्थ्यो।

प्रतियोगितामा सहभागीले निद्रा पूरा गरेर मात्र पुग्दैनथ्यो। उनीहरूले विभिन्न रमाइला र सिर्जनात्मक काम पनि गर्नुपर्थ्यो। ‘स्लिप सिनेमा’ चुनौतीमा चर्चित चलचित्रका दृश्यलाई निद्रासँग जोडेर पुनः प्रस्तुत गर्नुपर्थ्यो। त्यस्तै, ‘स्लिप बिंगो’ मा एक साताको आफ्नो सुत्ने बानीको मूल्यांकन गर्नुपर्थ्यो।

अर्को रोचक चुनौती ‘अन्डरकभर स्लिप मिसन’ थियो। यसमा सहभागीले सामान्य कुराकानीका क्रममा कसैले थाहा नपाउने गरी ‘कम्बल’ र ‘सिरानी’ शब्द १० पटक प्रयोग गर्नुपर्थ्यो। हरेक साताको उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीले ‘प्रो स्लिपर अफ द विक’ को उपाधि पाउँथे।

दुई महिनापछि जिनिया चटर्जी, रत्नागिरी मणिकन्दन र मेहेक खोत शीर्ष तीनमा परेका थिए। हैदराबादका करिम खान पनि साप्ताहिक रचनात्मक चुनौतीमा सबैभन्दा धेरै जित हासिल गरेपछि वाइल्डकार्डमार्फत फाइनलमा पुगेका थिए। यससँगै फाइनलमा चार जना प्रतिस्पर्धी पुगे।

‘बिग बेड’ नाम दिइएको अन्तिम चरणमा दुई वटा चुनौती राखिएका थिए। पहिलो ‘मेमोरी फोम च्यालेन्ज’ मा प्रतियोगीले तस्बिर हेरेर कोठाको सजावट पुनः तयार गर्नुपर्थ्यो। यसबाट उनीहरूको स्मरणशक्ति, अवलोकन क्षमता र समूहमा काम गर्ने सीप परीक्षण गरिएको थियो।

दोस्रो ‘स्लिप अक्सन’ मा प्रतियोगीले सिरानी, सिरक, एसी, बत्ती र आवाज नियन्त्रणजस्ता सुत्न आवश्यक सामग्रीका लागि बोली लगाउनुपर्थ्यो। त्यसपछि उनीहरूले आफूले तयार पारेको सुत्ने वातावरणमा अन्तिम रात बिताएका थिए। उनीहरूको निद्राको अंकका आधारमा विजेता घोषणा गरिएको थियो।

यसरी जिनियाले नौ लाख ६३ हजार ४०० भारतीय रुपैयाँ अर्थात् करिब १५ लाख ४३ हजार ७५१ नेपाली रुपैयाँ नगद पुरस्कार जितिन्। उनले वेकफिटले प्रायोजन गरेको बिदासमेत पाएकी छन्।

वेकफिटले सन् २०१९ देखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ। कम्पनीका अनुसार पहिलो चार संस्करणमा १० लाखभन्दा बढी आवेदन परेका थिए भने ६५ जना इन्टर्नले जनही एक लाख भारतीय रुपैयाँ भत्ता पाएका थिए। 

वेकफिटले प्रतियोगिताको छैटौँ सिजनका लागि पनि आवेदन खुला गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App